दृष्य सहकारीको तेस्रो साधारणसभा सम्पन्न, साना उद्यमीकाे लगानीमा ठूलाे डेरी कारखाना खाेलिने


काठमाडौँ। दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साना दुग्ध व्यवसायीहरूले स्थापना गरेको सहकारीको साधारणसभा आइतवार काठमाडौँ थापागाउँस्थित काठमाडौँ ब्यांक्वेटमा सम्पन्न भएको हो।

हाल ४ सय बढी सेयर सदस्य रहेको सहकारीले हजार सेयर सदस्यको लक्ष्य राखेको जनाएको छ । साधारणसभामा मन्तव्य राख्दै संस्थाका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध उद्योग स्थापना गरी दुग्ध पदार्थको विविधिकरणमा काम गर्ने बताए। 

राष्ट्रिय सहकारी महासंघका संचालक तथा उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति  डि।बि। बस्नेतले सहकारीहरू संकटमा परिरहेका बेला दृष्य सहकारीले नमूना कार्य अगाडि बढाएकोमा प्रशंसा गरे। 

बस्नेतले दृष्य सहकारीले साना डेरीहरू समेटेर ठूलो उद्योग स्थापना गरी अगाडि बढ्ने योजनालाई कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघ र बैंकहरूले पनि सहयोग गर्ने बताए। 

उद्घाट कार्यक्रममा बोल्दै एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) का अध्यक्ष किरण आचार्यले दुग्ध उद्योगीहरूको संस्थाका सदस्यको सामूहिक लगानीलाई दुग्ध पदार्थको विविधिकरणमा केन्द्रीत गर्नुपर्ने बताए। 

आचार्यले सहकारीले साना ठूला सबै सदस्य (डेरी उद्योगी)ले गुणस्तर र मूल्यमा उपभोक्ताको हितलाई मध्यनजर गरेर सहकारी मार्फत् प्रशोधित दूध तथा दुग्ध पदार्थको उत्पादन तथा विक्री वितरण गर्नु पर्नेमा जोड दिए। 

कार्यक्रममा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्ण कार्की, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, सहकारी अभियान्ता मुकुन्द दाहाल, नापी विभागका अधिकृत डिल्ली दाहाल लगायत संस्थाका पदाधिकारी, सेयर सदस्य, उद्योगीहरु एवं किसानका प्रतिनिधिहरूले सहकारीको भूमिकाको चर्चा गरेका थिए।

कार्यक्रममा असल बचत कर्ता, असल ऋणि, असल वाल बचत कर्ता गरि तीनजनालाई प्रमाणपत्र तथा नगदले सम्मान गरिएको थियो ।