कृषि कार्यमा ६२ प्रतिशत घरपरिवार संलग्न, महिलाको हिस्सा ३२ प्रतिशत


काठमाडौँ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार देशभरका ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा संलग्न रहेको देखाएको छ।

आज (विहिबार) राष्ट्रिय तंथ्याक कार्यालयले सार्वजिनक गरेको राष्ट्रिय कृषि गणना २०७८ को अनुसार ६२ प्रतिशतमध्ये ३२।४ प्रतिशत घरपरिवारको मूली कृषक महिला रहेको देखिएको हो।

तथ्यांक कार्यालयले कृषि जग्गाको स्वामित्वमा रहेको असमानताको अनुगमन गर्न पहिलो पटक यससम्बन्धी विवरण संकलन गरेको जनाएको छ।

दीगो विकासका लक्ष्य नम्बर ५.a.१ मा कृषि जग्गामा समानताको विषय उठाइएको छ। जसअनुसार सन् २०३० भित्र ४० प्रतिशत महिलाको स्वामित्व हुनुपर्ने लक्ष्य राखिएको छ।

तथ्यांक अनुसार कृषि जग्गामा स्वामित्व भएको जनसंख्या ४१ लाख ५४ हजार ३४३ रहेको छ। यसमध्ये महिलाको जनसंख्या १४ लाख ३० हजार ७ सय १९ रहेको हो।

देशभरका कृषि जनसंख्यामा औसत ३४.४ प्रतिशत महिलाको जनसंख्या देखिए पनि प्रदेशअनुसार फरक–फरक तथ्यांक छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८.५ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८.७ प्रतिशत रहेको छ भने अन्य प्रदेशहरूमा कोशी प्रदेशमा ३७.२, मधेशमा ३५.८, बागमतीमा ३१.५, लुम्बिनी ३४.४ र सुदूरपश्चिममा ३०.६ प्रतिशत महिलाको कृषि जग्गामा स्वामित्व देखिएको छ।

नेपालले २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषिगणना गर्दै आएको छ।