शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छिन् ।

काठमाडौँ महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उनले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन् । शान्ति बाटिकामा रहेको संरचना हटाउन कुनै कानूनी समस्या नरहेको उनको भनाइ छ ।

शान्तिबाटिकमा गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरु हटाएर वडाअध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिइन् ।

उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छिन् । महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारी सम्मानमा ढिलाई नगर्न उनकाे निर्देशन छ ।

उनले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिइन् । कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने उनकाे भनाइ छ । उनले जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा गरिएको जानकारी दिइन् ।

उनले भनिन्, “कर्मचारीको सम्मानको विषय जे जे कारणले रोकिएको भएपनि अब यो कर्मचारीको सम्मानको कार्यक्रमलाई अगाडि बढाउनु होला । कार्यकारी प्रमुख प्रशासकीय अधिकृतज्युलाई मैले निर्देशन दिएँ । शान्ति बाटिकाको विषय आएको छ, त्यो स्ट्रक्चर यथासम्भव आजै हटाए पनि हुन्छ । त्यहाँ कानूनी रुपमा कुनैपनि व्यवधान छैन । त्यो कामलाई आजै कार्यान्वयन गरेर तस्बिरसहित हामीलाई अपडेट गराउनुहोला, वडा अध्यक्षज्यूलाई पनि गराउनु होला ।”

उनले अव्यवस्थित बसोबास र सुकुम्बासी व्यवस्थापन गर्न भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गरेको पनि जानकारी दिइन् । उनकाअनुसार समस्या समाधानको लागी अब छिट्टै महानगरमै अर्को बैठक आयोजना गर्नेछ । बैठकमा भूमि समस्या समाधान समिति र प्रभावित वडाका अध्यक्ष सहभागी हुने उनकाे भनाइ छ । बैठकमा वडागत समस्या प्रश्तुत गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासको दिगो समाधान खोज्ने गरी विस्तृत छलफल गरिने उनको भनाइ छ ।