नोभेम्बरमा नेपाल भित्रिए १ लाख बढि विदेशी पर्यटक


काठमाडौं । सन् २०२३ को पछिल्लो महिना नोभेम्बरमा पनि १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अघिल्लो महिना अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्ड राखेको थियो । योसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या ९ लाख १८ हजार ३०८ पुगेको छ ।

बोर्डका अनुसार पछिल्लो नोभेम्बर महिनामा कूल पर्यटक आगमन मध्ये २० प्रतिशत पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । समीक्षा अवधिमा भारतबाट २४ हजार ४४३ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।

यसै गरी दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१ जना नेपाल आएका छन् । यसैगरी बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएका छन् ।