बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत


नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारे । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, “ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । वचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।”

उनले भने,“सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो ।”

उनले नेपालको अर्थतन्त्र विग्रियो, शिथिल भयोे, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता रहेको बताए ।

केही समययता, नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या रहेको तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरेको उनले आरोप लगाए । राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गरेको र बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लागेको उनले बताए । मन्त्री डा. महतले भने,“कहाँ लगानी गर्ने ? प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए । घरजग्गामा अत्याधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो । सेयर बजारमा लगानी भयो । कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेछन् । ती लगानीको प्रतिफल आइरहेको छैन । माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ ।”

अर्थमन्त्री डा. महतले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको बताए। ‘रेडबुलले नेपालमै उत्पादन सुरु गरेकोले माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भए तीन गुणा रोजगारी बढ्ने बताए । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ मन्त्री डा. महतको भनाइ थियो ।