नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा


काठमाडौँ । अटोमोबाइल व्यावसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि करण चौधरीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी पुस २० र २१ गते हुने निर्वाचनका लागि चौधरीले बुधवार आधिकारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्। व्यवसायी चौधरीले सीजी होल्डिङ्सका तर्फबाट आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । उनले सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठको साथ पाएपछि उनले यसपटक पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि राजनबाबुले अध्यक्षका लागि सम्पुर्ण तयारी गरेपनि नेतृत्व चयनको मिति नजिकिदा करणलाई साथ दिएर आफू पछि हटेका छन् ।

अघिल्लो पटकको निर्वाचनमा वर्तमान अध्यक्ष ध्रुव थापासँग पराजित चौधरीले यो पटक सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावन बढी रहेको बताउँछन् । गोल्छा अर्गनाइजेसनको तर्फबाट व्यवसायी आकाश गोल्छा पनि अध्यक्षकाे लागि दावेदार हुन् तर उनले अहिलेसम्म आधिकारिक रूपमा उम्मेदवारी भने घाेषणा गरेका छैनन् ।

दुबै जनासँग निकट एक अटो व्यवसायीले आकाश गाेल्छा र करण चाैधरीबिच वार्ता गराएर सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना बढी रहेकाे बताए । उनले भने, “यस विषयमा नाडाभित्र छलफल हुदैँ छ भाेलिसम्म टुङ्गाे लाग्छ ।”

त्यसैगरी ठुला घराना र साना व्यावसायीबिचको अन्तरले पनि भूमिका खेलेको अनुमान गरिएको छ। युवा व्यवसायी भएका कारण अटोमोबाईल क्षेत्रसँग कम घुलमिल हुनु पनि चौधरीको गत निर्वाचन पराजयकाे कारण रहेको व्यवसायीहरू बताउँछन्। तर यसपटकको निर्वाचनमा उनलाई कसको साथ कति हुन्छ वा सर्वसम्मतमा नै नेतृत्व चयन हुन्छ भन्ने विषय अन्याेल छ ।