पशुपतिनाथ मन्दिर आसपासमा बालाचतुर्दशीसम्म मासु तथा मदिरा बिक्री र सेवन गर्न नपाइने


काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै पशुपतिनाथका चार किल्ला क्षेत्रमा आजदेखि मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रसम्म यो नियम लागु हुने जनाएको छ ।

कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जारी सुचनामा उल्लेख छ ।