नेपाल पुलिस स्कुल चितवनद्वारा ‘एक विद्यार्थी,एक विरुवा अभियान’


काठमाडौँ । नेपाल पुलिस स्कुल चितवनले विद्यालय शिक्षामानै वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाई र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरूलाई ज्ञान र सचेतनाको लागि अनिवार्य वृक्षारोपण कार्याक्रम अन्तर्गत नेपाल पुलिस स्कुल चितवनले ‘एक विद्यार्थी,एक विरुवा अभियान’ शुरुवात गरेको छ ।

हरेक विद्यार्थी, शिक्षक, कर्मचारीलाई विद्यालयले विरुवा उपलब्ध गराउने र सबैले आआफ्नो घरमा वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत बुधबार नेपाल पुलिस स्कुल चितवन शान्तिपुरले हरेक विद्यार्थी, शिक्षक एवम कर्मचारीलाई विभिन्न जातका विरुवा वितरण गरेको हो ।

सुरक्षा, शिक्षा, अनुशासन र सामजिकता वातावरण संरक्षणमा नेपाल पुलिस स्कुलको सहभागिता भन्ने मूल उद्देश्यका साथ शुरुवात गरिएको कार्यक्रममा बुधबार ८ सय भन्दा बढी विरुवा वितरण गरिएको छ ।

शारिरीक तन्दुरुस्ती, अनुशासन र उत्कृष्ट शिक्षाको लागि महत्वपूर्ण योगदान गरिरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीहरूलाई नैतिक एवम सामाजिक व्यवहारको सम्बन्धको बारेमा विभिन्न कार्यक्रम एवम गतिविधी मार्फत ज्ञान सिप प्रदान गर्दै आईरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज निजिकै रहेको यस स्कुलले वातावरण संरक्षण, वन्यजन्तुको सुरक्षाका साथै स्थानीय पर्यटन सम्बन्धी विभिन्न तवरले विद्यार्थीहरूलाई सचेतना गर्दै आएको र यस शैक्षिक सत्रमा विद्यार्थीहरूलाई हरित गाउँ, हरित शहर, हरियाली नेपालका लागि वृक्षारोपण अभियान शुरुवात गरीएको स्कुलका समादेशक रोशन थापाले जानकारी दिए ।

एक विद्यार्थी,एक विरुवा अभियान अन्तर्गत हरेक विद्यार्थीले आफुलाई मन परेका विभिन्न प्रजातीका विरुवा मध्ये कुनै एक प्रजातीका विरुवा छनौट गरी लैजाने र आ–आफ्नो घरमा परिवारसँग मिलेर वृक्षारोपण गर्ने गरी कार्यक्रम संचालन गरीएको समादेशक थापाले जानकारी दिए ।

विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक एवम विद्यार्थीहरूलाई विद्यालयले विभिन्न प्रजातिका एक–एक विरुवा गरी करिव ८ सय विरुवा वितरण गरिएको हो ।

कक्षा दशमा अध्ययन गर्नेले एक दिन अनिवार्य सामाजिक सेवा गर्ने,विद्यालय शिक्षामै आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्ने, खेलकुद अन्तर्गतका विभिन्न विधामा नियमित प्रशिक्षण प्रदान गर्ने लगायतका शैक्षिक एवम व्यवहारिक ज्ञान सिप प्रदान गर्ने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा कक्षा एक देखि दशसम्म गरी सात सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।