भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध


काठमाडौं । भारतले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो।

बिहीबार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ ।

अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको आँकलन छ ।

भारतको उक्त कदमले नेपाली बजार प्रभावित हुने भएको छ । भारतले प्याज निर्यातमा कर लगाउँदा नेपाली बजारमा केहि समययता प्याजको अभाव देखिएको छ।