ऐनसेल खरिदबिक्री अध्ययन तथा छानबिन समितिले काम सुरु गर्‍याे


काठमाडौँ । ऐनसेल सेयर खरिदबिक्री अध्ययन तथा छानबिन समितिले काम सुरु गरेको छ । सरकारले मंसिर २१ गते गठन गरेको समितिले आजदेखि छानबिन सुरु गरेको हो ।

समितिलाई छानबिनका लागि ३० दिनको समय दिइएको छ ।

समिति संयोजक टंकमणि शर्मा दंगालले विज्ञप्ति जारी गर्दै आजदेखि औपचारिक रुपमा काम सुरु भएको जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारबाट प्राप्त कार्यादेशभित्र रही तोकिएको समयसीमा भित्र समितिले अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने छ ।”

समितिले अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरु,सरकारी अधिकारीहरु, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने,कागजात तथा जानकारी प्राप्त गर्ने, तथा सम्बन्धित विषयका विज्ञा, विभिन्न सरोकारवाला संघ,संस्था र व्यक्तिहरुसँग समेत आवश्यकता अनुसार छलफल गरेर राय सुझाव प्राप्त गर्ने जनाएको छ ।

सरकारले पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन गरेको थियो ।

समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।