सेयरको लक इन अवधि खुल्ने जानकारी ३० दिन अगावै सार्वजनिक गर्न धितोपत्र बोर्डको निर्देशन


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरको लक इन पिरियड समयमा नै प्रकाशित गर्न र यसको नियमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

सोमबार बोर्डले एक सूचना निकालेर सेयरको लक इन अवधि खुल्ने जानकारी ३० दिन अगावै सार्वजनिक गर्ने व्यवस्था मिलाउन सुचिकृत संस्था, नेप्से र सिडीएसलाई निर्देशन दिएको हो ।

दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले आफ्नो कारोबारको यथार्थ विवरणको जानकारी समयमा नै नदिँदा लगानीकर्ताहरू डुब्ने गरेको पाइएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत संगठित संस्थालाई सेयरको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन भनेको छ ।

बोर्डले जारी गरेको सूचनामा सर्वसाधारण लगानीकर्ताहरुलाई लक इन अवधिको जानकारी दिन, सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोवारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकोले यो निर्देशन जारी गरिएको उल्लेख गरेको छ ।

त्यस्तै सम्बन्धित सूचीकृत संगठित संस्थाबाट लक इन अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लि। ले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेबसाइटमा राख्नु पर्ने छ।