घट्दै महंगी, कात्तिकमा मुद्रास्फीति ५.३८ प्रतिशत


काठमाडौँ । २०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.३८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै २०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको उल्लेख गरेको हो । २०८० असोजमा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो भने २०७९ कात्तिकमा ८.०८ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

२०८० कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.०२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः २.६३ प्रतिशत, १.७१ प्रतिशत र २.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।