७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै नेपाल राष्ट्रबैंक


काठमाडौं । सरकारले नेपाल राष्ट्रबैंक मार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनले भएको छ । राष्ट्र बैंकले बिहीबार ५ वर्षे अवधिको लागि ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्ने भएको हो ।

राष्ट्रबैंकले बोलकबोल मार्फत् उक्त ऋणपत्र जारी गर्न लागेको छ । ६ वर्षे अवधिको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन राष्ट्रबैंकले जनाएको छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने साँवा ब्याज भुक्तानी २०८५ पुस ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले बताएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ भने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ५ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।
केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रुपमा भाग लिन भने पाउने छैनन् ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।