काठमाडौँ । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेको छ ।
आइतबारदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब अन्तिम प्राविधिक परीक्षण पश्चात् छिट्टै ग्राहकहरूमा समेत सेवाको सुरुवात गरिने टेलिकमले जनाएको छ ।
यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने छ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रूपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने छ ।
यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको सङ्ख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।
एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी रहेको कम्पनीले जनाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्