पहिचानका लागि ‘मुद्रा सङ्केत’


नेपाली मुद्राको सङ्केत हुनुपर्ने बहस चलिरहेको छ । विश्वमा मुद्रा सङ्केत प्रचलनमा भने नेपाली मुद्रा भने सङ्केतविहीन छ । पछिल्लो समय बैंकिङ सुधार सुझाव कार्यदलले समेत मुद्रा सङ्केत प्रचलनमा ल्याउन सुझाव दिएको छ ।

नेपालमा लिच्छविकालका सूर्यवंशीय राजा मानदेव (पाँचौँ शताब्दी) बाट मुद्रित श्रीमानाङ्क मुद्रालाई नेपालको पहिलो मुद्रा मानिएको छ । त्यस बखतमा प्रसारित सबै मुद्राहरू तामा (धातु) बाट बनेको पाइन्छ ।

मल्लकाल (ईस्वी बाह्रौँ शताब्दीदेखि) मा प्रसारित मुद्राहरूमा काठमाडौँका मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्ल (विसं. १८०० को सुरुतिर) ले सुनको मुद्रा समेत चलाएका थिए । काठमाडौँ उपत्यका बाहिर टक्सार नाम गरेका धेरै ठाउँहरू भएको कारण पनि मुद्राको प्रचलन अघिदेखि नै उपत्यकाबाहिर पनि हुने अनुमान गर्न सकिन्छ (नेपाल राष्ट्र बैंकको २५ वर्ष) ।

पछि भारतसँगको व्यापारको कारण भारतीय मु्द्राको हिस्सा नेपालमा बढ्दै गयो । भारतीय मुद्रालाई नियन्त्रणमा राखेर नेपाली मुद्रा प्रचलन गर्ने राम्रो व्यवस्था नभएको कारण भारतीय मुद्रा कानुनी ग्राह्यको रूपमा मात्र नभई धेरै समयसम्म पनि प्रचलनमा रहिरहेको थियो ।

१९८७ मा सुन्धारामा टक्सार स्थापना गरेर नेपाली सिक्काको कारोबार बढाइयो भने २००२ सालमा सदर मुलुकीखानाबाट नेपाली नोट निष्काशन गर्न सुरु भयो । नेपाली मुद्रालाई राष्ट्रिय मुद्राको रूपमा विकसित र सुदृढ गराउन र निष्काशन र चलनचल्ती सुव्यवस्थित गर्न विसं. २०१३ मा नेपाल राष्ट्र बैंकको स्थापना भयो ।

नेपालमा २०२६ सालसम्म १, २, ५, १० र १०० अङ्कित मूल्यका कागजी मुद्राहरू प्रचलनमा थिए भने २०२७ सालमा रू. १००० र २०२८ सालमा रू. ५०० अंकित मूल्यका र २०३४ सालमा रू. ५० दरको कागजी मुद्रा प्रचलनमा ल्याइएको थियो । २०५३ सालमा रू. २५ र २५० अङ्कित नोट पनि छापिएको थियो । अहिले कागजी नोटमा १, २, २५ र २५० दरका नोटहरू छापिँदैनन् । हाल १ र २ दरका सिक्का आउने गरेको छ ।

यसरी नेपालको मुद्राको इतिहास हेर्दा पाँचौँ शताब्दीदेखि नै मुद्राको प्रचलन रहेको पाइन्छ । नेपालमा मुद्राको प्रचलन लामो समयबाट हुँदै आएको भए पनि नेपालको आफ्नै मुद्रा सङ्केत भने छैन । संसारका अधिकांश स्वतन्त्र देशहरूले आफ्नो मुद्रा चिनाउनको लागि मुद्रा सङ्केत राख्ने गरेका छन् । नेपालमा भने आफ्नो मुद्रा सङ्केत छैन । नेपालमा रू. अर्थात रूपैयाँ लेखेर काम चलाउँदै आएको भए पनि यसलाई मुद्रा सङ्केत भने मान्ने गरिएको छैन ।

अमेरिकी डलर ($), युरो (€), जापानी येनको लागि (¥) र भारतीय मुद्रा (₹) इत्यादि जस्तै नेपाली मुद्राको पनि छुट्टै मुद्रा अङ्कित चिह्न बनाउनु आवश्यक रहेको बैंकिङ सुधार सुझाव कार्यदलको सुझाव छ ।

कार्यदलका सदस्य तथा पूर्व बैंकर भुवन दाहालले मुद्रा सङ्केत हेरेर मुद्रा चिन्नको लागि मुद्रा सङ्केत राख्न सुझाव दिएको बताए ।

उनले भने, “सङ्केत हुँदा मुद्रा चिन्नको लागि सजिलो हुन्छ । मुद्रा सङ्केतले नेपालको पनि संसार भर इज्जत रहोस् भनेर सङ्केत राख्नुपर्ने सुझाव दिएको हो ।”

मुद्रा सङ्केतले प्राय राष्ट्रको संस्कृति वा इतिहासलाई प्रतिबिम्बित गर्ने गरेको छ । प्रत्येक मुद्रामा अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आइएसओ) द्वारा सेट गरिएको तीन–अक्षर कोड हुन्छ । EUR ले युरोलाई जनाउँछ, र GBP ले ब्रिटिस पाउन्डलाई जनाउँछ । नेपाली मुद्राको आइएसओ ४२१७ हो भने यसलाई NPR (एनपिआर) उल्लेख गरिन्छ । यी कोडहरूले विश्वभरका मुद्राहरू पहिचान गर्न सजिलो बनाउँछन् ।

अभियान्ता डिल्लिराज उपाध्यायले भने,“हाम्रो मुद्रामा पनि रूपैयाँ लेखेर काम चलाउँदै आएका छौँ । प्रविधिको विकाससँगै मुद्रा अब डिजिटलाइज्ड बन्न पुगेको छ । त्यसका लागि रूपैयाँ वा त्यसको सङ्केत दिने ‘रू’ ले मात्र पुग्दैन । त्यसका लागि मेसिनले बुझ्ने विशेष सङ्केत आवश्यक हुन्छ ।”

मुद्रा सङ्केतले देशको मुद्रालाई प्रतिनिधित्व गर्ने भएकोले मुद्रा पहिचान गर्न सजिलो हुन्छ । यसले स्थानीय र विश्वव्यापी बजारमा पनि सहज बनाउँछ । क्रिप्टोकरेन्सी बिटक्वाइन सन् २००९ देखि आएको भए पनि यसको (₿) आफ्नै छुट्टै सङ्केत छ । नेपालमा विभिन्न चरणमा आर्थिक, राजनीतिक परिवर्तन हुँदा पनि मुद्रा सङ्केत बनाउन सकेको छैन ।

मुद्रा सङ्केतलाई पनि एक शक्तिशाली राष्ट्रिय पहिचानकर्ताको रूपमा लिइन्छ । यसले आर्थिक, सांस्कृतिक र विश्वव्यापीरूपमा पहिचान पुर्याउन मद्दत गर्छ । प्रमुख विश्वव्यापी अर्थतन्त्र भएका देशहरूले लामो समयदेखि मुद्रा प्रतीकहरू अपनाएका छन् । नेपालको छिमेकी देश भारतले पनि सन् २०१० देखि मुद्रा सङ्केत अपनाएको हो ।

भारतले मुद्रा सङ्केत (₹) अपनाएपछि विश्वव्यापी वित्तीय बजारहरूमा भारतको मुद्राको पहिचान बढाएको र यसलाई अन्य मुद्राहरूबाट स्पष्ट रूपमा छुट्याएको विश्लेषण हुने गरेको छ ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले विश्वसनियता र पारदर्शिताको लागि मुद्रा सङ्केत चाहिने बताउँछन् । उनले भने, “यसले विश्वसनियता बढाउँछ र पारदर्शिता राख्ने भएकोले मुद्रा सङ्केत राख्नुपर्छ । यसले इज्जत बढ्छ ।”

मुद्रा सङ्केतले भाषिक र सांस्कृतिक सम्पदाको दृश्यात्मक प्रतिनिधित्व गरेर राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवलाई सुदृढ पार्छ भने विश्वव्यापी मुद्राहरूबाट नेपाली रूपैयाँलाई फरक पार्छ ।

आफ्नै मुद्रा सङ्केतले अन्तर्राष्ट्रिय मान्यता बढाउने सँगै विश्वव्यापी रूपमा वित्तीय लेनदेनलाई सहज बनाउँछ । मुद्रा सङ्केतलाई अन्तर्राष्ट्रिय रूपमा कानुनी रूपमा औपचारिक र दर्ता गर्नुपर्छ । नेपालले पनि अन्तर्राष्ट्रिय नीति नियम र व्यापारसँग समन्वय गर्नुपर्ने हुन्छ ।

अभियान्ता आचार्य मुद्रा सङ्केत बनाउँदा केही नियम रहेको र त्यसलाई पालन गर्नुपर्ने बताउँछन् । उनले भने, “सम्बन्धित देशमा आफ्नो मुद्रालाई के भनिन्छ, प्रायः त्यसैको सुरूको अक्षरबाट मुद्रा सङ्केत बनाइन्छ । नेपालमा हामीले हाम्रो मुद्रालाई रूपैयाँ भन्छौँ । यसको पहिलो अक्षर ‘र’ बाट सुरू हुने भएकोले समस्या हुन्छ । दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, मालदिभ्स, श्रीलङ्कामा रूपैयाँ वा रूपियाँ वा रूफियाँ भनिन्छ । यसैगरी इन्डोनेसियामा रूपिआ, मौरिससमा रूपया, सिचेल्समा रूपया भनिन्छ । यी सबै संस्कृत भाषाको रौप्यम् शब्दबाट बनेका हुन् । यसैले यी देशमा प्रयोग हुने सबै मुद्राको सुरूवात ‘र’ अक्षरबाट हुने हुँदा तिनीहरूका मुद्राका सङ्केत र नेपाली मुद्राको सङ्केत पृथक हुनु आवश्यक छ ।”

केही देशरूले एउटै मुद्रा सङ्केत प्रयोग गरिरहेका उदाहरण पनि छन् । डलर चिन्ह ($) धेरै राष्ट्रहरूले प्रयोग गरिरहेका छन् । यो चिन्ह संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशहरूले प्रयोग गर्ने गरेका छन् । एउटै मिश्रण रोक्न कुन देशको डलर प्रयोग गरिएको छ भनेर अतिरिक्त अक्षरहरू थपिन्छन् (जस्तै ः अमेरिकी डलरको लागि US$ वा क्यानेडियन डलरको लागि C$) ।

मुद्रा प्रतीकहरू वित्तीय कारोबार, बीजक, मूल्य ट्याग, र अन्य मुद्रा–सम्बन्धित कागजातहरूमा कुन मुद्रा प्रयोग भइरहेको छ भनेर देखाउन पनि प्रयोग गरिन्छ । मुद्रा सङ्केत अन्तर्राष्ट्रिय व्यापार र वित्तको लागि महत्वपूर्ण मानिन्छ । मुद्रा सङ्केत व्यावहारिक प्रयोग बाहेक सांस्कृतिक र ऐतिहासिक अर्थ पनि हुन सक्छ, जसले देशको सम्पदा वा अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दछ ।

मुद्रा निश्चित भाषामा मात्र नभएर मेसिनले संसारभरका मुद्रा चिन्नुपर्ने अवस्था आएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय नीति नियम र व्यापारसँग समन्वय गर्नुपर्ने हुँदा मुद्रा सङ्केत चाहिन्छ । प्रविधिको विकाससँगै मुद्रा अब डिजिटलाइज्ड बन्न पुगेको छ । त्यसका लागि रूपैयाँ वा त्यसको सङ्केत दिने रू. ले मात्र नपुग्ने भएकोले त्यसका लागि मेसिनले बुझ्ने विशेष सङ्केत आवश्यक हुन्छ ।

मेसिनले मुद्रा पहिचान गर्न निश्चित भाषाका अक्षर मात्र नभई, यसका लागि संसारभर प्रयोग हुँदै आएका कुनै पनि भाषाका अक्षरसँग हुबहु नमिलेर एउटा प्रतीकका रूपमा प्रयोग गर्नुपर्ने भएको छ ।

मुद्रा प्रतीक भए मुद्रा पहिचान गर्न सहज, देशको आर्थिक शक्ति र स्थिरतालाई प्रतिनिधित्व, देशको संस्कृति र इतिहासलाई प्रतिबिम्बित सँगै राष्ट्रिय पहिचान र गौरवको प्रतीक, अन्तर्राष्ट्रियस्तरमा व्यापार र लगानीलाई सहज, पढ्न र बुझन् सजिलो, वित्तीय लेनदेनका त्रुटिहरू रोक्न मद्दत, उपभोक्ताहरू र लगानीकर्ताहरूलाई विश्वासको भावना सिर्जना हुन सक्छ । मुद्रा सङ्केतहरू पूरा मुद्राको नाम लेख्न छिटो र सजिलो हुन्छ । यसले कुन मुद्रा हो भन्ने अस्पष्टता पनि हटाउँछ ।

(२०८२ फागुनमा टक्सार म्यागेजिनमा प्रकाशित)