सिबिफिनको चौथो वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँ ठमेलस्थित अलफ्ट होटेलमा शुक्रबार सिबिफिको चौथो साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले सिबिफिनको स्थापनापछि देशको बैंक तथा वित्तीय क्षेत्रमा के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्दै नीति निर्माणका लागि सकारात्मक काम गरिरहेको बताए । देशका विभिन्न क्षेत्रमध्ये अन्तर्राष्ट्रिय मानक भएको क्षेत्र बैंक तथा वित्तीय क्षेत्र रहेको उनले बताए ।

उपाध्यक्ष श्रेष्ठले १६औँ योजनामा बैंक तथा वित्तीय क्षेत्रलाई समेटेर लैजाने बताए ।

उपाध्यक्ष श्रेष्ठले देशमा भइरहेको उत्पादन घटेको र नयाँ उत्पादन नभएको भन्दै हरेक कुरा बाहिरबाट आयात गरिँदा समस्या सिर्जना भएको बताए । एउटा क्षेत्रको समस्या समाधान गर्दा अर्को क्षेत्रमा थप समस्या निम्तने अवस्था रहेको उनको भनाइ छ ।

उपाध्क्ष श्रेष्ठले अहिले नीति निर्माता तहमा बुझाइको एकरुपता ल्याउँदै संगठित र सहयोगी रुपले अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए । उनले भने, “बैंक तथा वित्तीय क्षेत्र सबल भएमा मात्रै अरु क्षेत्र सबल हुन्छन् । यसमा सरकारको पनि ध्यान छ । सरकारबाट आफ्नो वित्त र मौद्रिक नीतिको तर्फबाट नियमन गर्ने र सहयोगको काम भइरहेको छ ।”

योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले सिबिफिनले अध्ययन र अनुसन्धानमा आधारित रहेर तथ्यपरक काम गर्ने गरेको भन्दै अन्य संस्थाले पनि यसको अनुशरण गर्न आवश्यक रहेको बताए ।

सिबिफिनले थिंक ट्यांकसँग जोडिएर अध्ययन अनुसन्धानसहित काम गरिरहँदा यसको महत्व बढिरहने उहाँले उनको भनाई थिया ।

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले १६औँ योजनामा वित्तीय क्षेत्र र निजी क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

उनले राष्ट्रिय योजना आयोगले लिएका तथा भविष्यमा लिने परिमाणात्मक लक्ष्य पूरा गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु पनि योगदान गर्न तयार भएको बता ।

बैंक तथा वित्तीय क्षेत्रले आर्थिक वृद्धिदर तथा कुल गार्हस्थ उत्पादन बढाउनका लागि कसरी काम गर्न सक्छन् भन्ने कुरा १६औँ योजनामा समेटिनुपर्ने उनको भनाई थियो ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको सूचक चारैतिरबाट नकारात्मक बनेको भन्दै अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम हुनुपर्ने बताए । दोहोरो अंकको ब्याजदर रहेसम्म अर्थतन्त्रले गति नलिने उनको भनाई थियो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोरले उद्योगी, व्यापारीको मनोबल खस्किरहेको अवस्थामा सिबिफिन तथा एफएनसीसीआई र सिएनआईले समन्वय तथा साझेदारी गरिरहेको बताए ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठले सिबिफिन आएपछि बैंकहरुको ‘सुपरग्लू’को काम गरिरहेको आफूले अनुभव गरेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रमा सिबिफिनले सबै व्यावसायिक क्षेत्रलाई जोड्ने काम गरेको उल्लेख गरे ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुशील पन्तले नीतिगत तहमा काम गर्ने सवालमा आफूहरु सिबिफिनसँगै रहेको बताए । उनले आन्तरिक उत्पादनलाई प्रवद्र्धन तथा युवालाई देशमा रोक्नका लागि उत्पादक क्षेत्रसँगै रहनेमा आफ्नो प्रतिवद्धता व्यक्त गरे ।