गण्डकी प्रदेश: दुई जिल्लामा ६० प्रतिशत कृषि कर्जा प्रवाह


काठमाडौँ । आर्थिक वर्ष २०७९ ८० मा गण्डकी प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा कम कृषि कर्जा मनाङ जिल्लामा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार कृषि कर्जाको मनाङमा ०.४ प्रतिशत कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट गण्डकी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा २०७९ असार मसान्तको तुलनामा ६.८ प्रतिशतले वृद्धि भई ३१ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ११.७ प्रतिशतले वृद्धि भएको थियो ।

गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जामा कृषि कर्जाको अंश ८.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रदेशको कुल कृषि कर्जाको ६० प्रतिशत रकम कास्की र नवलपरासी (पूर्व) जिल्लामा मात्रै सिमित भएको देखिन्छ । जिल्लागत कृषि कर्जामा कास्कीको ४१.४ प्रतिशत र नवलपरासी (पूर्व) मा १८.६ प्रतिशत हिस्सा रहेको छ ।

कास्कीमा १३ अर्ब ६७ लाख रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ भने मनाङमा १२ करोड रुपैयाँमात्र प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले स्याङ्जामा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेका छन् । स्याङ्जाको हिस्सा ६.४ प्रतिशत रहेको छ ।