नेपाल भारत मैत्री समाजले मनायो भारतको ७५ औँ गणतन्त्र दिवस, कार्यक्रममा कसले के भने?


काठमाडौँ। नेपाल भारत मैत्री समाजले भारतको ७५ औँ गणतन्त्र दिवस मनाएको छ ।
काठमाडौँमा शनिवार नेपालका विभिन्न दलका प्रतिनिधी, नागरिक समाज, व्यवसायी लगायतका व्यक्ति तथा भारतीय दूतावासका अधिकारीसमेतका भारतीय नागरिकको उपस्थितिमा एक कार्यक्रम गी दिवस मनाएको हो।

कार्यक्रममा बोल्दै बक्ताहरूले दुइ देशको सम्बन्ध थप प्रगाढ बनाउन गम्भीर हुनु पर्ने बताएका हुन्। 

नागरिक अभियन्ता सुन्दरमणी दीक्षितले भारतले स्वतन्त्र भएपछि गरेको लोभलाग्दो प्रगितबाट नेपालले पाठ सिक्नु पर्ने बताए। कार्यक्रममा बोल्दै उनले भारतलाई हेर्ने नेपालको दृष्टिकोण विश्वका अन्य मुलुकसँगको जस्तो मेल नखाने तर्क गरे।

उनले भने, “भारतका लागि छुट्टै नीति छैन, नीति बनाउनु पर्यो। कुनै नेता वा पार्टीले डगमगाउन नसक्ने, खलबलाउन नसक्ने नीति बनाउनु पर्छ।”

कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाल भारत सम्बन्ध बारे हरेक वर्ष चर्चा गरिने गरे पनि  भाषण गरेर मात्र नभइ व्यवहारमा सम्बन्ध सुधारको कार्य गर्नपर्ने बताए।

उनले भने, “भारतको उन्नतिमा हाम्रो उन्नति जोडिएको छ। रोटी वेटीको सम्बन्ध छ, तर धेरै हदसम्म सम्बन्ध कम हुँदैछ।” नेपालले खासगरी तराई क्षेत्रका जनताको इच्छालाई सम्बोधन गर्नु पर्ने, व्यक्ति-व्यक्ति, देशदेशको सम्बन्ध थप बलियो बनाउनु पर्ने बताए।

पछिल्लो समयमा नेपाल भारत सीमामा आवतजावतमा समस्या देखिएको भन्दै उनले भारतको ध्यानाकर्षण पनि गराए।

झाले भने, “भारतका सुरक्षाकर्मीले बोर्डरमा पारी जाँदा गाडि लिएर जान दिँदैन। हिडेर जान सकिदैन। यसमा भारतीय दुतावासले सम्बोधन गरोस्।”

लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले नेपाल भारत सम्बन्धमा स्थिरतामा जोड दिए। उनले शासन र संविधानले स्थिरता दिने तर्क गर्दै भारतले पटक पटक संविधान संशोधन गरेर सम्पन्न बनेकाले नेपालले पनि सिक्नु पर्ने बताए। 

उलने भने, “हाम्रो रोटी वेटीको सम्बन्ध छ भारतसँग। सबै थोक मिल्छ, एउटा मिल्दैन। भारत ७५ वर्षमा विश्वकै सम्पन्न राष्ट्र बनेको छ। नेपाल दुनियाको विपन्न राष्ट्रको दर्जामा जान लागेकाे छ।”

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका परराष्ट्रमन्री एनपी साउदले नेपाल र भारत एउटै साँस्कृतिक विरासतका मुलुक भएकाले सम्बन्ध सरकारले बलियो बनाउन भूमिका खेलेको बताए।

भुगोल सँस्कृति र जनस्तरमा रहको, साथ सहयोग आवश्यक पर्दा तत्काल तत्पर रहेको व्यवहारमै देखिएको चर्चा गर्दै उनले  मित्रता थप प्रगाढ बनाउन सबैको भूमिका रहनुपर्ने बताए । 

भारतको विकासको प्रशंसा गर्दै साउनले भने, “जनसंख्या, भुगोल, संस्कृतिका दृष्टिले ठूलो मुलुक निकै राम्रो गतिमा छ। राष्ट्रियता निर्माणको सन्दर्भमा भारतमा आफ्नै विशेषता छ। भारतको प्रगति हुनु दुनियाँको प्रगति हुनु हो।” 

साउदले विश्वभर छरिएका नेपाली र भारतियहरू एकदमै सहयोगी भुमिकामा रहेको आफूले पाएको बताए। 

भारतको सीमामा रहेका केही समस्या भने तत्काल हटाउनु पर्ने उनको तर्क छ। उनले भने, “बोर्डरमा भारत नेपाली दुबै सुरक्षा अधिकारीहरुलाई काउन्सिलिङ गर्न जरुरी छ। एकअर्काका नागरिकलाई सम्मानित व्यवहार गर्नु पर्छ। हामी तयार छौँ, भारत पनि तयार होस्।” 

नेपालले निर्यात गर्ने कुरा थोरै भएकाले भारतीय बजारमा सहज पहुँचको भुमिका भारत सरकारले खेल्न पर्ने उनको भनाइ । 

माओवादी नेता देवेन्द्र पौडेलले पनि विश्वमा तिब्र विकास, सुचना प्रविधि, औद्योगिक होस् भारतले ठुलो प्रगति गरेकोमा प्रशंसा गर्दै नेपालले पनि छिमेकीबाट सिक्नुपर्ने बताए। 

उनले भने, “आमा र छिमेकी फेर्न सकिदैन। मानव जातिका चुनौतीसँग मिलेर लड्नु पर्छ। हाम्रो औषधि, भाषा, संस्कृति, सिमाना सबै मिल्छ। सबै खालका चुनौतिको सामना मिलेर गर्न दुबै देश तयार छौँ।” 

केही समस्या परेमा आपसी समस्या एकअर्कामा छलफल गरेर समाधान गर्नुपर्ने उनको जोड छ। 

नेकपा एमालेका नेता राजेन्द्र भट्टराईले नेपाल भारत सम्बन्ध सामान्य हिसाबका अन्य मुलुकको जस्तो नभएको चर्चा गरे। 

उनले भने, “भारतसँग आर्थिक, सामाजिक, सभ्यता, धार्मिक, साँस्कृतिक रुपमा जोडिएको छ। राम्रा पक्ष धेरै छन्। केही समस्यट छन्, आपसी समन्वय सल्लाहमा गर्नु पर्छ।” 

भारतिय राजदुतावासमा मिसन चिफ प्रसन्न श्रीवास्तवले भारतले असल मित्रको रूपमा नेपालको सधै विकास चाहेको र यसै अनुरूप काम गरिरहने प्रतिवद्धता व्यक्त गरे। उनले भने, “छिमेकी पहिले नीति अनुरुप हामी सधै नेपाल र नेपालीको साथमा छौँ।” 

आयोजक नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले दुबै देशको प्रगाढ सम्बन्ध थप बलियो बनाउन नीति निर्मातादेखि जनतासम्म लाग्नु पर्ने बताए  ।