निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौंः चेम्बर अध्यक्ष मल्ल


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । निर्यात प्रर्वद्धन गरेर व्यापारघाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए । निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजिकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले भने, “चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।”
नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ भन्दा बढी भएपनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले उल्लेख गरे । जडिबुटीजन्य बस्तुहरुको उपभोग र निर्यात सम्वन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन् । यस्तै निर्यात प्रर्वद्धनका लागि अनलाईन गेटवे प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिए ।

उनले भने, “मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ, । मुलुकभित्रका प्राकृतिक श्रोत एवं साधानहरु सम्वन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ ।”

सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए । निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरुलाई समावेश गर्न सकिए रोजगारी समस्या केहीहद सम्म हल गर्न सकिने उनको भनाई छ । राज्यको पढ्दै कमाउँदै नीतिाई औद्योगिक एवं व्यवसायिक क्षेत्रमा कार्यन्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका हुन् ।