विराटनगरमा खुल्यो क्यान्सर अस्पताल,अध्यक्ष डा.कार्की भन्छन्,‘उपचार गराउन अब देश बाहिर जानु पर्दैन’


विराटनगर । मोरङ विराटनगर स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको छ ।

चार अर्ब रूपैयाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालनमा आएको हो ।

उक्त अस्पताल सञ्चालनमा आएसँगै क्यान्सर रोग भएका बिरामीको उपचार विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको माध्यमबाट विराटनगरमै सम्भव हुने अस्पतालले जनाएको छ ।

विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भने,“अस्पतालका पुर्वी क्षेत्रमा क्यान्सरको राम्रो सेवा नभएको कारण बिरामीहरू भरतपुर र भक्तपुर गएर सेवा लिन बाध्य थिए । अब भने त्यो बाध्यता निकै पर भएको छ ।”

अस्पतालको औपचारिक रुपमा क्यान्सर इन्स्टिच्युटको कांग्रेस नेता तथा चिकित्सक डा शेखर कोइरालाले उद्घाटन गरेका हुन् ।

डा.कार्कीले विगत आठ महिनादेखि सेवा सुरु गरे पनि आइतबार औपचारिक उद्घाटन भएको जानकारी दिए ।

विराट मेडिकल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले एक सय शैया क्यान्सर रोगको उपचारका लागि छुट्याइएको बताए ।

अस्पतालले क्यान्सरको उपचारका लागि एक अर्ब भन्दा बढीको बढीको अत्याधुनिक उपकरण जडान गरेको उनको भनाई छ ।

रेवन्त रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवा दिने अस्पतालले जानाएको छ ।

अवश्यकताअनुसार सेवा थप विस्तार गर्दै जानेर कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई सेवा दिने अस्पतालको लक्ष्य छ ।

इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ ।

यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविदद्वारा परामर्शलगायतका सेवा रहेको अस्पतालले जानाएको छ ।