रेशम चौधरीको प्रश्न, ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’


काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् ।

आइतबारबाट काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा उनले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च ओहोदामा थारू समुदायको पहुँचबारे नेतृत्वसँग जवाफ माग गरेका हुन् ।

चौधरीले लोकतान्त्रिक आन्दोलनमा आफ्नो समुदायको योगदानको स्मरण गराए । उनले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएको र गणतन्त्र ल्याउन लाठी तथा पानीको फोहरा खाएको स्मरण गर्दै गणतन्त्र प्राप्तिपछि पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको जिकिर गरे ।

चौधरीले नेपाली काँग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकारहरू व्यवहारमा नआएको गुनासो गरे । उनले ६–७ प्रतिशत जनसंख्या ओगटेको थारू समुदाय अझै पनि राज्यको निर्णायक तहमा पुग्न नसकेको भन्दै प्रधानन्यायाधीश, सेनापति र मुख्यसचिवजस्ता पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने ? भन्दै प्रश्न गरे । 

टीकापुरलाई जिल्ला बनाउनुपर्ने पुरानो मागलाई उनले पुनः दोहो¥याए ।