काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमा क्षेत्रमा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको आरोप लगाएका छन्।
आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै साहले भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामानमा समेत सरकारले भन्सार लगाउने गरेको बताए। तर, हवाईमार्गबाट आउने व्यक्तिले लाखौँ रुपैयाँका सामान ल्याउँदा पनि भन्सार नलाग्ने गरेको उनको आरोप छ।
“भन्सार नियन्त्रणको नाममा निजी सम्पत्ति लुट्ने काम भइरहेको छ। यो बन्द हुनुपर्छ,” उनले भने।
साहले स्थलमार्ग र हवाईमार्गबाट सामान ल्याउने नागरिकबीच सरकारले विभेद गरेको दाबी गरे। दिल्लीबाट विमान चढेर आउने व्यक्तिले महँगा सामान, मोबाइल, रेडियो, टेलिभिजन तथा कपडालगायतका सामान ल्याउन पाउने तर रक्सौल वा भारतका अन्य सीमा नाकाबाट घरायसी प्रयोजनका लागि केही हजार रुपैयाँका सामान ल्याउँदा समेत खोसिने गरेको उनले बताए।
उनले सरकारले सीमा सुरक्षाका नाममा तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाएकोमा समेत असन्तुष्टि जनाए। नेपालको सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको उल्लेख गर्दै साहले हिमाली तथा पहाडी क्षेत्रमा पनि सीमा सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने बताए।
“सीमा सुरक्षा गर्नलाई हो भने सुस्तामा किन नराखेकोरु कालापानीमा किन नपठाएकोरु” भन्दै उनले प्रश्न गरे।
सीमा सुरक्षा गर्नुपर्ने स्थानमा सुरक्षाकर्मी परिचालन नगरी तराईका सीमावर्ती क्षेत्रमा मात्र सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाउनुको उद्देश्य सर्वसाधारणलाई दुःख दिनु रहेको उनको आरोप छ।
साहले किसानका समस्या समाधान गर्न सरकार असफल भएको आरोप पनि लगाए। किसानले मलखाद, बजार र उत्पादनको उचित मूल्य नपाएको भन्दै उनले सरकारले किसानलाई संरक्षण गर्न नसकेको बताए।
किसानले उत्पादन गरेको उखु, मकै तथा अन्य कृषि उपज बिक्री गरेपछि समेत लामो समयसम्म भुक्तानी नपाउने अवस्था रहेको उनले बताए। किसानलाई उत्पादनका लागि आवश्यक सामग्री, बजार र उचित मूल्य उपलब्ध गराउनु सरकारको दायित्व भएको साहको भनाइ छ।
“किसानको कोही माइबाप छैन। न मलखाद छ, न बजार छ, न आफ्नो उत्पादनको मूल्य छ,” उनले भने।
सहकारी तथा लघुवित्त पीडितको समस्या समाधानमा समेत सरकार गम्भीर नभएको साहले आरोप लगाए। सरकारले पीडितसँग सम्झौता गरे पनि त्यसको कार्यान्वयन नगरेको भन्दै उनले सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरे।
“सम्झौता जुन हातले गर्नुभएको छ, कार्यान्वयन पनि त्यही हातले गर्नुस्। अनि मात्र हामी विश्वास गर्छौँ, जनताले विश्वास गर्छन्,” उनले भने।
वर्तमान सरकारसँग रहेको दुई तिहाइको राजनीतिक शक्तिलाई जनताले अनुभूति गर्ने परिणाममा बदल्नुपर्नेमा समेत साहले जोड दिए। तर, सरकारले आफ्नो राजनीतिक शक्तिअनुसार काम र परिणाम देखाउन नसकेको उनको आरोप छ।
दुई तिहाइको बहुमत सरकारका लागि शक्ति बन्नुपर्नेमा बोझजस्तो भएको टिप्पणी गर्दै साहले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिए।
“दुई तिहाइको ताकत छ, यसलाई परिणाममा बदल्नुस्। दुई तिहाइको बोझ जस्तो नठान्नुस्,” उनले भने।
सरकार आफ्नै दलभित्रको घेराबन्दीमा परेको दाबी गर्दै साहले आन्तरिक समस्या समाधान गर्न पनि सुझाव दिए। ठूलो राजनीतिक शक्ति भए पनि त्यसअनुसार काम हुन नसके जनताले त्यसको मूल्यांकन गर्ने उनको भनाइ छ।
साहले सरकारले १०० दिनमा १०० वटा काम गर्ने घोषणा गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनबारे प्रश्नसमेत उठाए। सरकार गठन भएको ६ महिना पुग्दा पनि घोषणा गरिएका काम पूरा हुन नसकेको उनको आरोप छ।
“म सोध्न चाहन्छु, के भयो १०० वटा काममारु के–के काम गर्नुभयोरु कति प्रतिशत गर्नुभयोरु” उनले प्रश्न गरे।
सरकारले १०० दिनपछि आफैँ गरेको कार्यसम्पादन मूल्यांकनसमेत उत्तीर्ण हुन नसकेको साहको दाबी छ। सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै उनले परिणाम दिन नसके जनताले आगामी दिनमा त्यसको जवाफ दिने चेतावनीसमेत दिए।


प्रतिक्रिया दिनुहोस्