नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिवीको रेखामुनि


काठमाडौँ । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आज (सोमवार) काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९\०८०) नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिवीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।

करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा.हेमराज रेग्मीले बताए ।

उनकाअनुसार मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरू अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ ।

प्रदेशगत रूपमा भने सबै भन्दा कम गरिवी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले बताए ।

सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिव ३४ प्रतिशत मानिसहरू गरिवीको रेखामुनि रहेका छन् । सर्वेक्षणमा कर्णाली प्रदेशमा भने गरिबीको संख्यामा सुधार हुँदै गएको देखाइएको पनि राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।