राष्ट्रिय कृषक समूह महासंघमा चुनावी सरगर्मी बढ्दो, अध्यक्षमा चार जनाको दाबी


काठमाडौँ । साना र सिमान्तकृत किसानहरूको साझा संस्था राष्ट्रिय कृषक समूह महासंघको राष्ट्रिय महाधिवेशनमा आउँदो फागुन शनिवार र आइतवार हुने भएको छ । महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशन नजिकिदैँ गर्दा नेतृत्वका लागि आकांक्षीहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् भने अध्यक्षदेखि महासचिवसम्म नेतृत्वको लागि दाैडधूप समेत सुरू भएको छ ।

अध्यक्ष पदका लागि संस्थापक अध्यक्ष उद्वव अधिकारीलाई दोहोर्याउन ठूलो पंक्ति लागिरहेको एक सदस्यले बताए । वर्तमान अध्यक्ष नवराज वस्नेत पनि दोरिने इच्छा व्यक्त गरिरहेको पनि ती सदस्यको भनाइ छ ।

अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष पंचकाजी श्रेष्ठ र वर्तमान कार्यसमितिका महासचिव रीता बस्ताकोटीले उम्मेद्वारी घोषणाको तयारी गरिरहेकी छिन् ।

स्रोतका अनुसार महासंघले यदि उक्त विद्यानलाई पुन संशोधन गरेर एक कार्यकालभन्दा धेरै अध्यक्ष हुन नपाउने विषयलाई सच्चाएको खण्डमा हाल अध्यक्षमा रहेका नवराज बस्नेत समेतको दावेदार रहने छ । बस्नेत आफू नहुने अवस्थामा संस्थापक अध्यक्ष उद्धव अधिकारीलाई समेत चुनावी मैदानमा आउन नदिने रणनीतिमा लागेको स्राेतले जनाएकाे छ ।

उसो त महासंघ स्थापना हुनुको मुल उद्देश्य साना र सिमान्तकृत किसानको समस्यालाई सरकारसामु स्थापित गराएर उनीहरूको समस्यालाई समाधान तर्फ लैजानु थियो तर पछिल्लो समय महासंघभित्र राजनीति पस्न थालेपछि संस्थामाथि बेलाबेलामा प्रश्न समेत उठ्न थालेको छ ।

स्थापक अध्यक्ष अधिकारीले महासंघ जुन उद्देश्य अनुरूप स्थापना भएको थियो त्यो अनुरुपले काम हुन नसक्दा साना किसानको समस्यालाई समेत सम्बोधन नहुँदा उनीहरूको समस्यलाई सम्बोधन गर्नको लागि आफू अध्यक्षको उम्मेदवार दिन खोजेको बताए ।

अधिकारी आफू अध्यक्षको लागि दावेदार भएता पनि आफूभन्दा अनुभवी र विज्ञ व्यक्ति आएको खण्डमा पछि हट्ने बताएका छन् । उनले भने, “साथीहरूले मलाई उठाएको खण्डमा म अध्यक्षकाे लागि आउन तयार छु । महासंघमा पछिल्लाे समय जुन तरिकाले संचालन हुनु पर्ने हाे त्याे तरिकाले हुन सकेकाे छैन । त्यसैले म आउन खाेजेकाे हाे ।”

अध्यक्षका लागि उम्मेदवारी दिएकी रिता बास्ताकोटीले स्थापनाकालदेखि नै महासंघमा जोडिएको र झन्डै १२ वर्षसम्म महासंघमा बसेर काम गर्दा विभिन्न अनुभव बटुलेकाे बताउँदै अध्यक्षमा आफू उपयुक्त रहेकाे दाबी गरेकी छन् ।

उनले भनिन्, “म नेतृत्वमा आउनको लागि योग्य रहेको समेत महसुस गरेकी छु । नेपालको कृषि क्षेत्र महिलाकरण भएको छ । कृषि क्षेत्रको जिम्मेवार महिलाको काँधमा रहेको कुरा विभिन्न तथ्याङ्कले समेत देखाएको छ । तर राज्यले महिलाले गरेको त्यो कृषि कर्मलाई तथ्याङ्कमा ल्याउन सकेको छैन । मेराे नेत्तृवले यस्ता समस्यालाइ सम्बाेधन गर्ने काम गर्नेछ ।”

अर्का दावेदार श्रेष्ठले पनि आफू अध्यक्षकाे लागि उपयुक्त रहेकाे दाबी गरेका छन् । उनले महासंघका स्थापनकालदेखि नै संस्थालाई सही तरिकाले संचालन गर्न अहम भूमिका निर्वाह गरेकाे र अगामी दिनमा यसकाे नेतृत्व आफूले गर्न सक्षम रहेकाे बताए । संस्थाको विधि, विधान र उद्देश्य अनुरुप काम नभएको भन्दै बेला बेलामा केही सदस्यले आवाज उठाउँदा नयाँ नेतृत्व चयन थप पेचिलो बन्ने देखिएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल २०६८ भदौ २३ गते तत्कालीन मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय हरिहरभवनमा कृषक समूहहरूको अगुवा प्रतिनिधिहरूको भेलाबाट गठन भई देशैभरी कार्य क्षेत्र रहने गरी २०६८ चैत्र १४ मा काठमाडौँमा दर्ता भएको हो ।

८ जिल्लाका किसान प्रतिनिधिहरूको भेलाबाट गठन भएको यस महासंघले कृषक समुहहरूलाई आवद्धता गरी संगठन विस्तारमा आजको दिनमा ६६ जिल्ला पुगेको छ ।