काठमाडौँ । ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो लुला डा सिल्भा चौथोपटक निर्वाचित भएका छन् ।
आइतबार भएको निकै प्रतिस्पर्धात्मक दोस्रो चरणको निर्वाचनमा लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी मानिने सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । यससँगै ब्राजिलमा लामो समयदेखि जारी तीव्र राजनीतिक ध्रुवीकरणबीच भएको राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ ।
यो ऐतिहासिक जितसँगै ८० वर्षीय वामपन्थी नेता लुला ब्राजिलको इतिहासमा चौथो पटक राष्ट्रपति बन्ने पहिलो व्यक्ति भएका छन् । यस पटकको चुनावी अभियानमा महँगी, अपराध, भ्रष्टाचार र ब्राजिलसहित समग्र ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिक लहर जस्ता विषयहरू प्रमुख रूपमा उठेका थिए ।
सन् १९८९ मा ब्राजिलमा प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन प्रणाली पुनः सुरु भएयता, पहिलो चरणको मतदानमा दोस्रो स्थानमा रहेका उम्मेदवारले अन्तिम जित निकालेको यो पहिलो पटक हो । गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा लुला बोल्सोनारोभन्दा पछि परेका थिए, जसले बोल्सोनारोको चुनावी अभियानलाई बलियो बनाएको थियो । पहिलो चरणमा बोल्सोनारोले ४७.०३ प्रतिशत मत पाउँदा लुलाले ४५.१६ प्रतिशत मत प्राप्त गरेका थिए— जुन झन्डै २२ लाख मतको अन्तर थियो ।
लुलाको यो जित बोल्सोनारो राजनीतिक आन्दोलनका लागि ठुलो धक्का मानिएको छ । फ्लाभियोका पिता एवं पूर्व राष्ट्रपति जायर बोल्सोनारोले सन् २०२२ को चुनावमा लुलालाई पराजित गर्न सकेका थिएनन् र अहिले फ्लाभियो पनि लुलालाई रोक्न असफल भएका छन् ।
मतदानको समय थपिँदा अलमल
आइतबारको मतदान निकै उतारचढावपूर्ण रह्यो । दुवै उम्मेदवारका तर्फबाट निर्वाचन अधिकारीहरू समक्ष अन्तिम समयमा गरिएको अनुरोधपछि मतदानको समय दुई घण्टा थप गरिएको थियो ।
विभिन्न राज्यहरूमा मतदान केन्द्रसम्म मतदाता ओसार्ने बसहरू अवरोधमा परेको भन्दै राष्ट्रपति लुलाको समूहले गरेको माग बमोजिम ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश क्रिस्टियानो जानिनले समय थप गर्ने आदेश दिएका थिए । विपक्षी सिनेटर फ्लाभियो बोल्सोनारोको समूहले पनि भारी वर्षाका कारण मतदाताहरू मतदान केन्द्रमा पुग्न नसकेको भन्दै केही क्षेत्रमा समय थप्न माग गरेको थियो ।
मतदानको समय थप गर्ने निर्णयले देशभरका मतदान केन्द्रहरूमा केही अलमल सिर्जना गरेको थियो । स्थानीय समयअनुसार साँझ ५ बजे मतदान बन्द हुने ठीक समयमा यस्तो आदेश आएको थियो, जब कि धेरैजसो केन्द्रहरू बन्द भइसकेका थिए र बन्द भएका केन्द्रहरू पुनः खुला गरिएनन् । पछि न्यायाधीश जानिन र उच्च निर्वाचन अदालतले बन्द भइनसकेका मतदान केन्द्रहरू मात्र स्थानीय समय अनुसार साँझ ७ बजेसम्म खुला रहने स्पष्ट पारेका थिए । यस निर्णयप्रति बोल्सोनारोको टोलीले कडा आपत्ति जनाउँदै यसलाई सर्वोच्च अदालतका न्यायाधीशको ‘लज्जास्पद र असामयिक कदम’ भनेको छ ।
अन्तर्राष्ट्रिय प्रभाव
यस निर्वाचन परिणामको असर ब्राजिलबाहिर पनि पर्ने देखिन्छ । लुलाको नेतृत्वमा ब्राजिलले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिलाई निरन्तरता दिनेछ । ट्रम्प प्रशासनसँगको तनावबिच लुलाले ब्राजिलको सार्वभौमसत्ता र चीन लगायत ‘ग्लोबल साउथ’ (विकासोन्मुख राष्ट्रहरू) सँगको सम्बन्धलाई मजबुत बनाउन जोड दिँदै आएकाे सिएनएनले जनाएकाे छ ।
आइतबार मतदान समाप्त हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ब्राजिलको निर्वाचनलाई नजिकबाट नियालिरहेको बताएका थिए । उनले कुनै पनि उम्मेदवारको औपचारिक समर्थन नगरे तापनि यसअघि फ्लाभियोको पहिलो चरणको प्रदर्शनको प्रशंसा गर्दै यो निर्वाचन ‘निकै महत्त्वपूर्ण’ रहेको टिप्पणी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्