पैदल यात्रा गरी आएका देशभरका मिटरब्याजी पीडितहरू काठमाडौँमा


काठमाडौँ । देशभरका मिटरब्याजी पीडितहरू काठमाडौँ आइपुगेका छन् । उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौँ प्रवेश गरेका हुन् । उनीहरू भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौँमा आएका हुन् ।

उनीहरूले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुरू गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरूका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।

पीडितहरूको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा सुरू गरेको थियो ।