काठमाडौँ । चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रुअरी नेपाल लिमिटेड गम्भीर नगद अभाव (तरलता चाप) र उच्च ऋणको भारमा देखिएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीले बैंकबाट पाउने अल्पकालीन कर्जा सीमा शतप्रतिशत उपयोग गरिसकेको र कुल आम्दानीको ठुलो हिस्सा चालु पुँजीमै अड्किएको पाइएको हो ।
इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८२/८३ को अन्त्य (जुलाइ मध्य, २०२६) सम्ममा कम्पनीले बैंकबाट पाउने चालु पुँजी कर्जाको सीमा (१०० प्रतिशत नै उपयोग गरिसकेको थियो ।
बैंकबाट तत्काल थप रकम तान्ने ठाउँ शून्यमा झरेकाले कम्पनीमा नगद तथा तरलता सङ्कटको जोखिम उच्च रहेको प्रतिवेदनमा औँल्याइएको छ । यद्यपि, अगस्ट मध्यमा यो सीमामा केही सुधार आई करिब ३६ करोड रुपैयाँ (२८ प्रतिशत) बराबरको स्पेस फर्किए पनि तरलताको चाप कायमै रहने र यसको दिगोपनमा शङ्का रहेको इक्रा नेपालले जनाएको छ ।
कम्पनीको कुल वार्षिक सञ्चालन आम्दानी (३ अर्ब ३० करोड ८० लाख रुपैयाँ) को करिब ३८ प्रतिशत हिस्सा चालु पुँजीमै अड्किएको छ । आर्थिक वर्ष २०८०÷८१ मा यस्तो हिस्सा ५२ प्रतिशतसम्म पुगेको थियो ।
बजारमा उधारो उठ्न बाँकी तथा वर्षको अन्त्यमा सप्लायर्सबाट पाउने सुविधा घटेका कारण दैनिक व्यवसाय सञ्चालन गर्न बैंक ऋणमै अत्यधिक निर्भर हुनुपरेको प्रतिवेदनमा उल्लेख छ ।
थपिँदै ऋणको भार, विगतको लयमा फर्कन कठिन
तरलता सङ्कटसँगै कम्पनीमा ऋणको भार पनि उच्च देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा पुँजीगत खर्चको पुनर्कर्जा (पुरानो खर्च मिलाउन लिएको नयाँ ऋण)का लागि थप ३० करोड रुपैयाँ ऋण लिएपछि कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात ५.८ गुणा पुगेको छ । त्यस्तै, कम्पनीको कुल ऋण र खुद पुँजीको अनुपात पनि अघिल्लो वर्षको १.८ गुणाबाट बढेर २.२ गुणा पुगेको छ ।
विगतको तुलनामा व्यापारमा केही सुधार देखिए पनि कम्पनी अझै सन् २०२१ र २०२२ को लयमा फर्कन सकेको छैन ।
सन् २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख र सन् २०२२ मा ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको व्यापार सन् २०२३ मा ३ अर्ब ५ करोड १० लाख र सन् २०२४ मा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँमा झरेको थियो । गत आर्थिक वर्षमा करिब ७ प्रतिशतको वृद्धिसहित कारोबार ३ अर्ब ३० करोड ८० लाख रुपैयाँ पुगे पनि पुरानो उच्च विन्दुभन्दा अझै १ अर्ब २३ करोड ३० लाख रुपैयाँले कम हो ।
घट्दो ब्याजदर र नाफामा भएको सुधारका कारण ऋणको साँवा–ब्याज तिर्ने क्षमता २.४ गुणा र ब्याज तिर्ने क्षमता २.९ गुणा पुगेको छ तर आर्थिक मन्दी र बजारको तीव्र प्रतिस्पर्धाका कारण नाफामा थोरै गिरावट आएमा पुनः सङ्कट आउन सक्ने चेतावनी इक्रा नेपालले दिएको छ ।
दुई ब्रान्डमै निर्भर व्यापार र करको जोखिम
कम्पनीसँग स्ट्रङ र प्रिमियम गरी १२ वटा ब्रान्ड भए तापनि कुल आम्दानीको ६२ प्रतिशतभन्दा बढी हिस्सा केवल दुईवटा ब्रान्ड (नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ बियर) मा मात्र निर्भर रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष यी दुई ब्रान्डको हिस्सा ६५ प्रतिशत थियो । बजारको तीव्र प्रतिस्पर्धाका कारण यी दुई ब्रान्डको बिक्रीमा सामान्य गिरावट आए पनि कम्पनीको समग्र वित्तीय अवस्था धर्मराउन सक्ने जोखिम रहेको इक्राले औँल्याएको छ ।
यसैबचि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले सिजी ब्रुअरीको कुल १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बैंक कर्जा सीमाको रेटिङ गरेको छ ।
जसअन्तर्गत २८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘इक्रानपी एलबिबी प्लस’ रेटिङ प्रदान गरिएको छ, जसले कर्जा भुक्तानीमा मध्यम जोखिम रहेको जनाउँछ । त्यस्तै, १ अर्ब ४५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘इक्रानपी ए फोर प्लस’ रेटिङलाई निरन्तरता दिइएको छ, जसले अल्पकालीन ऋण तिर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्छ ।
नवलपरासीमा उद्योग रहेको यस कम्पनीको वार्षिक उत्पादन क्षमता ५ लाख ८५ हजार हेक्टोलिटर छ । देशभर करिब ३०० डिलर र ५३ हजार खुद्रा बिक्रेताको सञ्जाल रहेको यस कम्पनीका नेपाल आइस, रियल गोल्ड र मुस्ताङ बियर हङकङ, जापान, बेलायत, अमेरिका र अष्ट्रेलियामा समेत निर्यात हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्