काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा निशुल्क वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निशुल्क वाइफाई इन्टरनेट उपलब्ध गराउनको लागि नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरणबिच सहमती भएको हो ।
शुक्रबार भएको सहमतीमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।
नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा निशुल्क वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा निशुल्क वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्ने जनाइएको छ ।
त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने उल्लेख गरिएको छ ।
निशुल्क वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्ने जनाइएको छ । सम्झौता अनुसार यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।
प्रतिक्रिया दिनुहोस्