ग्रील तथा स्टील उद्योगका लागि ‘ग्रीलग्राम’ को माग


काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरूलाई व्यवस्थित ढङ्गबाट र सहरी सौन्दर्यतालाई कायम गर्न सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा ग्रील ग्रामका लागि जोड दिएका हुन् ।

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।

लघु घरेलु तथा साना उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ र ग्रील तथा स्टील व्यवसायी महासंघसँग आगामी दिनमा सहकार्य गरिने पनि अध्यक्ष सिंहले बताए ।

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले सरकारी निकायहरूमा उद्योग दर्ता र नवीकरण प्रकृया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरीदिन आग्रह गरे ।

कोरोना एवं आर्थिक मन्दिको कारणबाट व्यवसायीहरूमा परेको आर्थिक समस्याको समाधानका लागि बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र विनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि उनले आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले ग्रील तथा स्टील व्यवसयीहरुले आयत गर्ने ठूला एवं साना मेसीन औजारहरूमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयत गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरीदिन आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघमा ११ हजार व्यवसायीहरू आवद्ध छन् । यो क्षेत्रमा कार्यरत दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरू संलग्न रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।