दुग्ध क्षेत्रमा ऊर्जा दक्षतालाई प्रभावकारी बनाउन सरोकारवालाकाे जाेड


काठमाडाैँ । नेपालको दुग्ध क्षेत्रमा ऊर्जा दक्षतालाई प्रभावकारी बनाउन सरोकारवालाले जोड दिएका छन् । डेरी उद्योगमा ऊर्जाको माग र प्रयोग बढिरहेको भन्दै खपतमा ध्यान दिनुपर्ने उनीहरूको भनाई छ ।

पास्चराइजेसन, चिलिंग र वितरण जस्ता प्रक्रियाहरूको लागि डेरी क्षेत्रमा ऊर्जाको व्यापक खपत हुने गर्दछ । दुग्ध उद्योगमा उच्च ऊर्जा खपतले लागत बढ्नुका साथै हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा समेत प्रभाव पार्ने विज्ञहरूको भनाई छ ।

नेपाल डेरी एसोसिएसनले स्वीस कन्ट्याक/कासा(Swisscontact/CASA)सँगको सहकार्यमा काठमाडौँमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले ऊर्जाको प्रयोगमा लागत कटौती गर्न ऊर्जा अडिट आवश्यक रहेकोमा जोड दिए ।

उनले ऊर्जा खपतमा ध्यान दिँदा ५० प्रतिशत सम्म बचाउन सकिने उल्लेख गरे । उनले भने,“ खासमा हामीले ऊर्जाको प्रयोगलाई ध्यान नै दिँदैनौ । सचेत भएर ऊर्जा खपत गर्ने हो भने ५० प्रतिशत सम्म बचत गर्न सकिन्छ । यसले दुग्ध पदार्थको लागतसमेत कम गर्न सकिन्छ । हामीले ऊर्जा अडिटमा ध्यान दिनुपर्छ ।”

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रकी सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठले ऊर्जा दक्षता नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि सदैव प्रभावकारी अभ्यासहरू र वित्तीय ऐनहरूमा नीति समावेश गर्ने नीतिबारे चेतना जगाउनुपर्नेमा जोड दिइन् ।

शूर्योदय मिल्क तथा वेभरेज इन्डष्ट्रीका निर्देशक मनोज यादवले कारखाना स्थापनाको क्रममा ऊर्जा दक्षता विचारलाई एकीकृत गर्न र ऊर्जा कुशल लगानीको भुक्तानी अवधिमा चेतनाको अभावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमले नेपाली डेरी क्षेत्रमा ऊर्जा कुशल अभ्यासहरूको आर्थिक र वातावरणीय फाइदाहरूको बारेमा ज्ञान आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष दाहालले बताए ।