दुध तथा दुग्धजन्य पदार्थको आयातमा सरकारले लगायो प्रतिबन्ध


काठमाडौँ । सरकारले दुध तथा दुग्ध उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ । स्वदेशमै उत्पादन वृद्धि भइ कृषकले सडकमै दूध पाेख्ने अवस्था आइरहँदा सरकारले ताेकिएका उत्पादन आयातमा राेक लगाएकाे हाे।

गत फागुन २ गतेको मन्त्रिस्तरिय निर्णयअनुसार दुग्ध तथा दुग्ध पदार्थ आयातमा राेक लगाइएकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ। निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि लागि दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न रोक लगाइएको मन्त्रालयले जारी गरेकाे मातहतकाे विभागलाइ कार्यान्वयनका लागि पठाइएकाे परिपत्रमा उल्लेख छ।

दुध तथा दुग्ध जन्य पदार्थहरूको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उधोगको समेत) सोही रूपमा हुन नसक्ने, बाह्य मुलुकमा सम्भाव्य वस्तुहरूको निर्यात हुन नसक्नु र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्धजन्य पदार्थको अत्याधिक मौज्दात हुँदा समस्या सृजना भएकाले आयातमा प्रतिबन्ध लगाइएको पत्रमा जनाइएकाे छ।

सरकारले अहिले आयात हुँदै आएको चिल्लो हटाईएको दूध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी), डेरी ह्वाइटनर, मिल्क पाउडरलगायको पैठारीमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

यस्तै जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेको, नौनी (बटर), घ्यूको पैठारीमा पनि पूर्ण रोक लगाएको छ । यस्तै प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिजको पैठारीमा पूर्ण रोक लगाइको छ ।

‘आन्तरिक परिस्थितिका कारणले उधोग सञ्चालन गर्न कठिन भएको तथा कृषकहरुले दुध तथा दुग्ध जन्य पदार्थको विक्रि भएको उपजको समेत भुक्तानी पाउन नसकेको विषयलाई सम्बोधन गरेर गरिएकाे उक्त निर्णयले कृषकहरू तथा स्वदेशी उधोगहरूको संरक्षणका हुने’ मन्त्रालयले जनाएकाे छ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मन्त्रालयले गरेकाे उक्त निर्णय दुग्ध उद्योग र किसानको हितमा रहेको बताएका छन् । उनले नेपाल डेरी एसोसिएसन, कृषि तथा पशुपन्छि विकास मन्त्री, सचिव, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग र यसमा लाग्ने सबैलालाई धन्यवाद समेत व्यक्त गरे ।

*