नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबिच समझदारी


काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस प्रालिबिच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवाहरूमा सक्षम बनाउनका लागि समझदारी भएको छ।

उक्त समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठ र एनसीएचएलका तर्फबाट सईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस कार्यान्वयन साझेदार हुनेछ ।

यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपीसीआई) को स्ट्यान्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस-भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्नेछ । यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउने कम्पनीले जनाएकाे छ ।

भारतसँगको कर्स बोर्डर भुक्तानीका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसनसँग नेपाल क्लियरिङ हाउसले नेपालका बैंक वित्तीय संस्थाको स्विचको रूपमा काम गर्छ ।

बैंक वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको कम्पनीले जनाएकाे छ ।

हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ ।