आजदेखि दुग्ध किसानको आन्दोलन सुरू, रास्वपा सभापति लामिछानेलाई बुझाए मागपत्र


काठमाडौँ । सरकारले दुग्ध उत्पादक किसानको समस्या समाधान नगरेको भन्दै किसानले आजबाट क्रमबद्ध रूपमा आन्दोलन सुरू गरेका छन् ।

आज (आइतबार) १५ वटा किसान संघ संगठनहरूले दूध विक्री नभए‌को र समयमा नै भुक्तानी नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर माग पत्र बुझाएका छन् ।

त्यस्तै आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओलि, राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन ,लगायत अन्य शिर्ष दलका नेताहरूलाई मागपत्र बुझाउने कार्यक्रम रहेको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले जनाकारी दिए ।

भोलि (सोमबार) आफ्नो मागहरूका बारेमा संघीय संसद कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापन पत्र बुझाउने थापाले बताए ।

महासचिव थापाका अनुसार फागुन १७ गते विहान १० बजेदेखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने छ ।

यस्तै, फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरी माग पूरा नभएसम्म निरन्तर जारी रहने उनको भनाइ छ ।

पछिल्लो समय करिब ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन नसकेको उनीहरूले दाबी गरेका छन् ।