दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न कृषक महासंघकाे माग


काठमाडौँ । दूध तथा र दूधजन्य पदार्थ उत्पादक किसानहरूले पटक पटक भोग्नु परेको समस्याप्रति राष्ट्रिय कृषक समूह महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक विज्ञप्ति सार्वजनिक गर्दै डिडिसि लगायत दूध खरिद गर्ने कम्पनीले लामो समयदेखि नदिएकाे भुक्तानी तत्काल दिन अनुरोध गरेको हो ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले भारतीय बजारबाट आउने दुधको कच्चा पदार्थको आयातलाई रोक्न, किसानलाई भुक्तानी गर्न बाँकी बक्यौता अबिलम्ब गर्न, समर्थन मुल्यमा दुध विक्रीको वातावरण बनाउन बारम्बार अनुरोध गर्दै आएको बताएका छन् ।

उनले भने, “सरकारको नीतिगत तदारुकता र व्यवस्थापकीय कमजोरीको कारण दूध र दुग्ध जन्य पदार्थको उत्पादन र बजारीकरणमा बारम्बार देखिने समस्याले उत्पादक किसान, उपभोक्ता, सामाजिक क्षेत्र र व्यवसायी समेतलाई थप पिडा र निरास बनाउँदै लगेको छ ।”

“देशमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने तथ्यांकले देखाएको छ । दूध उत्पादनमा करिव ३० लाख घरधुरी किसान संलग्न रहदै आएका छन् । दूधको उत्पादन अधिकांश ग्रामीण भेगमा नै हुने गरेको छ । औपचारिक तथा आनौपचारिक रूपमा हुने दुधको कारोबारबाट ग्रामिण अर्थतन्त्र चलायमान भएको छ । सहरी क्षेत्रबाट नगद प्रवाह हुने र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनका साथै आर्थिक लाभको न्यायोचि वितरणमा समेत प्रत्यक्ष योगदान पुर्याउँदै आइरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।

महासंघका अनुसार दैनिक ५ देखि ६ लाख लिटर दूध वितरण हुन सकिरहेको छैन भने डिडिसि लगायत दूध खरिद गर्ने ठूला कम्पनीले समेत लामो समयदेखि भुक्तानी दिन बाँकी रहेको छ।

अध्यक्ष श्रेष्ठले दुग्धजन्य पदार्थको बाँकी रकम यथाशीघ्र भुक्तानी गरी आगामी दिनमा नियमित भुक्तानीको सुनिश्चित प्रबन्ध मिलाउन, किसानको उत्पादित दूध खरिद गरी दुग्ध पदार्थ उत्पादन हुने कारखानाहरूको सुचारु संचालन गर्न, खाद्य सामग्रीमा दुग्ध पदार्थ प्रबर्द्धन गर्नका साथै दुग्धजग्य कच्चा दूध तथा दुग्धजन्य पदार्थको प्रत्यक्ष अप्रत्यक्ष रूपमा हुने आयात बन्द गर्न नेपाल आग्रह गरेका छन् ।