गगनको टिप्पणीः अख्तियारले डामेका र आयोगले पोलेकालाई झन्डा छोपेर घर पठाइदिऔँ


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद आरोप प्रत्यारोपमै सिमित बनेको बताएकाे छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गरे । उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे । उनले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको बताए ।

उनले भने, “विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोल यताको पक्षको दाग देखाउने काम भइरहेको छ । यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मुल विषय पनि छायाँमा पर्ने भयो । आसनको दायाँ बस्ने होस् की बायाँ बस्ने होस्, काखैको होस् की पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ । अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ । “
थापाले संसद सफा गर्नसकेमात्रै मिटरब्याज, दुध किसानको समस्या समाधानका बारेमा छलफल गर्न सकिने बताए ।