टेरामक्स खरिद घोटाला प्रकरणको अनुसन्धान अन्तिम चरणमाः अख्तियार प्रमुख राई


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद घोटाला प्रकरणमा बयान लिने काम सकिएको बताएका छन् ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले अनुसन्धानको काम अन्तिम चरणमा पुगेकाले केही समय भित्रै त्यसको नतिजा आउने पनि बताएका हुन् ।

सो प्रकरणमा मुछिएका हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि आयोगले बयान लिएको छ । प्रमुख आयुक्त राईले सो प्रकरणको तथ्य र प्रमाणलाई केलाउने काम भइरहेकाले केही समयभित्रै परिणाम आउने बताए ।

उनले गौतम बुद्धको समाधिस्थल रामग्राम स्तुपा क्षेत्रको जग्गा ९९ वर्षका लागि लिजमा दिने मुद्दाको बारेमा प्रारम्भिक अनुसन्धान सुरू भएको र विस्तृत अध्ययन गरेर अघि बढ्न केही समय लाग्ने पनि समितिलाई जानकारी दिए ।

आयोगले धितोपत्र बोर्ड सेयर कारोबार सम्बन्धि मुद्दाको अनुसन्धानको कामलाई पनि अघि बढाएको जनाएको छ । प्रमुख आयुक्त राईले वाईडबडी विमान खरिद, सेक्युरिटी प्रेस, चमेलिया जलविद्युत आयोजना छानविन भइरहेको उल्लेख गर्दै छिटै टुंगो लगाउने समेत दाबी गरे । उनले बाईडबडी विमान खरिद प्रकरणको छानविनका लागि वाह्य मुलुकसँग द्विपक्षीय सम्झौता नभएको अनुसन्धानमा कठिनाई भईरहेको पनि स्पष्ट पारे ।

वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि मुद्दामा उपभोक्ता समितिहरू धेरै भएकाले अनुसन्धानको कामले धेरै समय लिने अवस्था रहेको पनि प्रमुख आयुक्त राइले बताए । कैलाली, सिन्धुली, कञ्चनपुर, कपिलवस्तु चार वटा जिल्लामा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि उजुरी आयोगमा परेपछि अनुसन्धानको काम सुरू भएको छ ।

राईले वन उपभोक्ता समितिहरू धेरै भएकाले यस सम्बन्धि अनुसन्धान जारी रहेको बताए । कर्मचारीहरू सरुवा भईरहने भएकाले मन्त्रालय तथा विभागहरुमा अनुसन्धानका लागि आवश्यक डकुमेण्टहरू पाउन नसकिने अवस्थाले पनि आफूहरूको अनुसन्धानमा कठिनाई थपिएको प्रमुख आयुक्त राईको भनाइ थियो ।

आयोगले गत वर्ष करिव २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फछ्र्यौट गरेको र चालु आर्थिक वर्षमा त्यो भन्दा बढी उजुरी पर्ने सम्भावना रहेको पनि औंल्याएको छ ।