डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउन आवश्यकः मन्त्री बस्नेत


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

आईतवार नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए ।

बस्नेतले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ, गुणस्तरीय र भरपर्दो बनाउँदै लैजान आवशयक रहेको चर्चा गर्दै दूरसञ्चार सेवा अझै पनि नेपालका ग्रामिण भेगमा पुग्न र सर्वसुलभ उपलब्ध हुन नसकेको भन्दै आवश्यक ध्यान दिनुपर्ने बताए।

उनले भने, “डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता छ । यसमा दूरसञ्चार सेवालाई अझ बढी कसरी सर्वसुलभ बनाउने, कसरी गुणस्तरीय बनाउने, कसरी भरपर्दो र विश्वसनीय बनाउने भन्नेमा ध्यान दिन जरुरी छ । यसले नयाँ चुनौति पनि सिर्जना गरिरहेको छ । अवसरसँगै चुनौति पनि सिर्जना भइरहेका छन् । अवसरको जति बढी सदुपयोग गर्छौं चुनौति त्यति नै धेरै कम हुन्छन् ।”

बस्नेतले दूरसञ्चार सेवा अझैपनि सबै नागरिकको पहुँचमा पुग्न नसकेको बताए।

—न्युज एजेन्सी नेपाल