समस्याग्रस्त सहकारीबाट ऋण लगेकाले ३५ दिनभित्र चुक्ता नगरे कालोसूचीमा राखिने


काठमाडौँ । समस्याग्रस्त सहकारीका ऋणीहरूलाई ऋण चुक्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना जारी गरेकाे छ । कार्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै ३५ दिन भित्र समितिको कार्यालयमा उपस्थित भै ऋणीहरूलाई ऋण चुक्ता गर्न अल्टिमेटम दिएको हो ।

“नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरुले सो संस्थाबाट लिनुभएको ऋण रकमको सावाँ ब्याज यो सूचना प्रकाशित गरिएको ३५ दिन भित्र समितिको कार्यालयमा उपस्थित भै राफसाफ गर्नुहुन सुचित गरिन्छ,”कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

कार्यालयले पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका ऋणीहरूलाई ऋण तिर्न भनेको हो ।

सो समयभित्र आफ्नो दायित्त्व राफसाफ नगरेको खण्डमा सहकारी ऐन, २०७४ को दफा ११५को उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचिमा राख्ने समेतको कारवाही हुने समेत समितिले जनाएको छ ।