स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक : अध्यक्ष मल्ल


काठमाडौं । । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक गतिविधि चलायमान बनाउन स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबारदेखि नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ को उद्घाटन गर्दै मल्लले स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको बताएका हुन् ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको मल्लले बताए ।

उनले भने, “मेला व्यापारमात्र केन्द्रीत नभई पछिल्लो समय नेपालमा भएको आयातलाई निरुत्साहित गरेर स्थानीय स्तरमा उत्पादन भएको वस्तुको विश्वभर बजारीकरणमा समेत जोड दिनेछ ।”

अध्यक्ष मल्लले मेलाले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत मजबुत बनाउन भूमिका खेल्नुका साथै आउँदो दिनमा नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको आयोजकले बताएको छ।

उक्त मेलामा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुने कार्यक्रम रहेको छ।

एक्स्पोमा नेपालमा रहेको रुसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहेका छन्।