निजी क्षेत्रका समस्या नजिकबाट हेरिरहेकाे छु: मन्त्री अर्याल 


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले निजी क्षेत्रका समस्या नजिकबाट नियालेको बताएका छन्।

बिहीबारदेखि नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको  सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ को उद्घाटन गर्दै मन्त्री अर्यालले आफूले सानैबाट निजी क्षेत्रको विषयमा अध्ययनदेखि यहि क्षेत्र हेरेर हुर्किएका कारण यस क्षेत्रका हरेक समस्या बुझेको बताएका हुन् ।

उनले हरेक क्षेत्रमा देखिएको मन्दीका बाबजुद पनि चेम्बर अफ कमर्सले आयोजना गरेको मेलाले आगामी दिनमा राम्रो सन्देश दिने बताए। उनले भने, “देशको अर्थतन्त्र चलायमान बनाउनको निजी क्षेत्रको भूमिका अहम् हुने गर्छ । त्यसले गर्दा आगामी दिनमा देशको अर्थतन्त्र थप चलायमान बनाउने छ ।”

मन्त्री अर्यालले देशको अर्थतन्त्र चलायमान बनाउन आफ्नो विवेकले सकेसम्म काम गर्ने बताए । मेलामा व्यापारलाई भन्दा पनि नेपाली बजारमा उत्पादन हुने वस्तुको अन्तरास्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विषयमा जोड दिन चेम्बर अफ कमर्सलाई आग्रह गरे ।

स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ।

मेलामा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुने कार्यक्रम रहेको छ।

बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन्।