सकियो ‘चेम्बर एक्स्पो २०२४’, ४० हजार बढीले अवलोकन गरेको आयोजकको दाबी


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।

फागुन २४ गते देखि २८ गते सम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय वस्तुहरू प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक सुस्तताकाबिच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

एक्स्पोमा स्वदेशमै उत्पादित कृषि जन्य वस्तुहरू, हस्तकलाका सामाग्री प्रर्दशनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले समेत सहभागिता जनाएका छन् ।

एक्स्पो मार्फत स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपुर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाइ छ । कठिन आर्थिक परिस्थितीकाबिच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाइ छ । चेम्बरले प्रत्येक बर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ । अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तराष्ट्रिय बस्तुको फिर्ती प्रक्रीयालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।