तीन खम्बे अर्थनीतिलाई बचाउन सबैले ध्यान दिनुपर्छः सचिव दुवाडी


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले तीन खम्बे अर्थनीतिलाई बचाउन सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभमा बोल्लै सचिव दुवाडीले सहकारीलाई डिजिटल युग तर्फ ल्यौजान खोज्दा तीन खम्बे अर्थनीतिलाई समेत बचाउन आवश्यक रहेको बताएका हुन् ।

हाल मुलुक डिजिटल फ्रेमवर्कतर्फ बढिरहेकाले सहकारीहरूले पनि प्रविधिको प्रयोग गर्नुपर्ने सचिव दुवाडीले बताए।

पछिल्लो समय केही सहकारीका कारण बचतकर्ताहरूले नै सहकारीमाथि विश्वास गर्न छाडेको बताए ।

दुवाडीले भने, ‘सहकारीमा देखिएको समस्या समाधान गर्न सहकारी संस्थाले नै ध्यान दिनुपर्छ।बचतकर्ताहरूले नै सहकारीमाथि शंका गरिरहेका छन । यस्तो वातावरण कसरी बन्योरु बचतकर्ताहरूले सडकदेखि सहकारी विभागसम्म धर्ना दिइरहेका छन्‌। सहकारी क्षेत्रमा देखिएका समस्या कसरी समाधान गर्ने भन्नेबारे सहकारी संस्थाले ध्यान दिनुपर्छ।’

सहकारी क्षेत्रमा विकसित प्रविधि सही ढंगले उपयोग गरी अघि बढ्नुपर्ने, अन्यथा सहकारीहरू हराएर जाने अवस्था आउनसक्ने उनको भनाइ छ।

दुवाडीले दुई दिनको छलफलले सहकारीमा देखिएको समस्यालाई कसरी हटाउन सकिन्छ भन्ने विषयमा पनि वहस हनु आवश्यक रहेको बताए ।