२५ औँ फ्लोरा एक्स्पो सुरू, यस्तो छ पुष्प व्यवसायको वर्तमान अवस्था


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि फ्लोरा एक्स्पो २०८० सुरू भएको छ । “स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत ४ गतेसम्म उक्त मेला आयोजना भएको हो ।

मेलाको उद्घाटन गर्दै बगमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले मान्छेको जन्मदेखि मृत्युसम्म फूलको महत्व रहेकाले पुष्य व्यवसायीलाई विस्तार गर्नुपर्ने बताए । केही दशकअघि देखि देशमा कृषि व्यवसायीक रूपमा अघि बढेको बताउँदै पुष्प व्यवसायलाई समेत अगामी दिनमा लगात कम बनाउनेदेखि यसको उत्पादनमा वृद्धि गराउनको लागि विभिन्न विषयमा ध्यान दिन आवश्यक रहेको बताएका हुन् । उनले भने, “बिक्री नभएकाे फुलाबाट हामीले विभिन्न किसिम्मका प्रफुमदेखि अन्य कस्मेटिक सामाग्री बनाउन सकिन्छ । त्यसैले यसकाे उत्पादन वृद्दिमा जाेड दिन आवश्यक छ ।”

काेभिड अघि नेपालले पनि फुललाई निर्यात गर्दै आएकाे थियाे तर केही समस्याका कारण निर्यातकाे लागि समस्या भएकाे छ विस्तारै उत्पादनलाई जाेड दिएर निर्यातलाई निरन्तरता दिन आवश्यक रहेकाे मन्त्री श्रेष्ठले बताए ।

त्यस्तै पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले नेपालमा आगामी महिनाबाट फूलको बीउ उत्पादनका लागि प्रयोगशाला संचालन गर्ने बताएका छन् । उनले प्रयोगशालाको तयारी अन्तिम चरणमा रहेको बताए । उनले भने, “टिस्यु कल्चर ल्याबको लगभग तयारी पुरा भएको छ । आगामी महिनाबाट सो ल्याब सञ्चालन गर्छौँ ।”

हाल नेपालमा उत्पादन हुने फूलको बिउ अधिकांश आयातित रहेको उनको भनाइ थियो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले ५० लाखभन्दा बढी कारोबार गर्ने जुनसुकै व्यवसायीहरू भ्याटमा जानु पर्ने बाध्यताले बजारमा दुई प्रकारको मूल्य निर्धारण भएको बताएका छन् । उनले यस्ताे थ्रेसहोल्ट हटाइनु पर्छ भने अर्थ मन्त्रालयदेखि कृषि मन्त्रालयसम्म बारम्बार माग गरिरहेकाे बताए ।

उनले भने, “कृषि कर्जामा पनि समस्या रहेको छ । सरकारले जम्मा पाँच वर्षको लागि कृषि कर्जा दिन्छ । त्यो पनि जम्मा पाँच करोड रुपैयाँसम्म । त्यो पाँच वर्षसम्म दिएको कर्जाले थालेको उत्पादनबाट पाँच वर्षमा कुनै कुनैले प्रतिफल नै दिन सक्दैन । तर, यता पाँच वर्षमा उसले पुरै ऋण चुक्ता गरिसक्नु पर्ने हुन्छ । जसले गर्दा व्यवसायीहरू समस्यामा पर्ने गरेका छन् । हाम्रो माग भनेको पाँच वर्ष होइन दश वर्षसम्म कृषि कर्जा प्रवाह हुनुपर्छ भन्ने हो ।”

उनले अवैधरूपमा हुने आयात पूर्णरूपमा रोकेर सरकारले व्यवस्थापन गर्नुपर्नेमा जाेड दिए । “भन्सारको नाकाहरूमा विषादी व्यवस्थापनका कार्यालयहरू समेत समस्या रहेको छ । अवैध तरिकाले धेरै नाकाबाट आयात भइरहेको छ । सकै नाकामा यस्तो कार्यालय स्थापना गर्नु पर्छ । १५ वटा नाकामा भएको यस्तो व्यवस्था पर्याप्त छैन,” उनले भने ।

उक्त एक्स्पोमा व्यवसायीक स्टल ५० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेको छन् ।

एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने आयोजक पक्षको अपेक्षा छ ।

त्यस्तै मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको आयाेजकले जनाएकाे छ ।

यस्तो छ पुष्प व्यवसायको वर्तमान अवस्था

नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरू भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो । वि.सं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को सङ्ख्यामा मात्रै नर्सरी व्यवसायीहरू रहेको थियो । २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायी विकास, बिस्तार र प्रवर्द्धनले गति लिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १ हजार ११६ भन्दा बढी (नर्सरी–५०५, कट फेलावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी–१३७, पुष्प थोक व्यवसायी–४, इनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक– ३६५) पुष्प व्यवसायीमा संलग्लनता रहेको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजार भन्दा बढी जनशक्तिहरू रोजगार रहेको छ ।

आर्थिक वर्ष २०७५\७६ मा पुष्पको वार्षिक कारोबार रु.२ अर्ब ४२ करोड रहेकोमा आर्थिक वर्ष २०७६\०७७ र आर्थिक वर्ष ०७७\७८ मा वर्ष भरी कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यवसायी कारोबारमा कमी आई जम्मा रु.१ अर्ब ६३ करोड मात्र भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएकाे छ ।

आर्थिक वर्ष २०७८\०८९ मा कोभिड–१९ को असर केही कम हुँदा समग्र व्यवसायी तथा आर्थिक क्षेत्रहरू केही चलायमान र सुधारोन्मुख हुँदा आर्थिक वर्ष २०७७\०७८ को तुलनामा करिब ३० प्रतिशतले पुष्पको वार्षिक कारोबारमा वृद्धि भई रु.२ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको थियो भने यस आर्थिक वर्ष ०७९\८० मा रु.३ अर्ब ७ करोड भन्दा बढीको कारोबार भएको छ ।

आर्थिक वर्ष २०७८\०७९ को तुलनामा आर्थिक वर्ष २०७९\८० मा करिब ३३.६१५ ले वार्षिक कारोबारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९\८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात रु ६८.१८ लाख र आयात तर्फ भने ३३.०६४८ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ ।