दुग्ध किसानले एक साताभित्रै भुक्तानी पाउने गरी काम गरिरहेको छु: मन्त्री साह


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले एक हप्ताभित्र किसानले दुधको भुक्तानी पाउने गरि काम गरेको बताएकी छन् ।

नेपाल डेरी एसोसिएसन र नेपाल दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँको धुम्बराही स्थित प्रोलिफिक माध्यामिक विद्यालयमा बालबालिकाबिच आयाेजना गरिएको दुधपान कार्यक्रममा बोल्दै मन्त्री साहले अर्थमन्त्रालयले दुग्ध किसानको समस्या समाधानका लागि ३० करोड रकम पठाइसकेको र एक हप्ताभित्र किसानको हातमा पुर्याउने गरि आफूले काम गरेकाे बताएकी हुन् । उनले आफूले मन्त्रालयको जिम्मा लिएपछि किसानको साना भन्दा साना समस्यालाई समाधान गर्न तर्फ नै केन्द्रित रहेको बताइन् ।

साहले विद्यार्थीलाई दिवा खाजामा एक गिलास दुध अनिवार्य खुवाउने कार्यक्रम समेत ल्याउनको लागि आफूले पहल गर्ने बताइन् । उनले भनिन्, “पछिल्लो समय दुध खपत नभएको भन्ने समाचार आएको छ । त्यसकारण हरेक सरकारी र निजी विद्यालयहरूमा एक गिलास दुध खुवाउने कार्यक्रम ल्याउनको लागि पहल गर्नेछु ।”

साहले खपत नभएको दुधलाई छुर्पी, चिज, आइसक्रिम जस्ता अन्य दुग्धजन्य पदार्थ बनाएर विदेशमा पनि निर्यात गर्नको लागि पहल गर्ने बताउँदै किसानको समस्या समाधान गर्न आफूले काम गर्ने दाबी गरेकी छन् ।

पशुसेवा विभागको महानिर्देशक डा. उमेश दाहालले सरकारी र निजी विद्यालयमा दुध तथा दुग्धजन्य पदार्थ अनिवार्य खुवाउनको लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

दाहालले केही समयदेखि दुग्ध क्षेत्रतर्फ देखिएको समस्यालाई समाधान गर्न नवनियुक्त मन्त्रीको नेतृत्वले पहल गरेको समेत बताए । उनले भने, “धेरै समयदेखि दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान नहुँदा किसानहरू मर्कामा परेको स्थिति थियो । नयाँ मन्त्री आएपछि उनीहरूको भुक्तानीको प्रकिृया अघि बढेको छ । जसले किसानहरूलाई प्रोत्साहन गरेको छ ।’’

नेपाल डेरि एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मन्त्रीको सक्रियाताले दुधकाे भुक्तानी नपाएको किसानले केही दिनमा नै भुक्तानी पाउने व्यवस्था गरेको भन्दै मन्त्री साहालाई धन्यवाद व्यक्त गरेका छन् ।

दाहालले अगामी दिनमा बाकीँ किसानहरूका समस्यालाई समेत समाधान गर्नको लागि सक्रिया भएर लाग्नको लागि मन्त्री साह समक्ष आग्रह गरे ।

उनले पछिल्लो समय डेरि एसोसिएसनले विद्यालयमा दुध खुवाउने कार्यक्रम अभियानकै रूपमा अघि बढाएको बताउँदै अगामी दिनमा सरकारले नै यस्ता कार्यक्रम अनिवार्य संचालन गर्नको लागि कदम चाल्नु पर्ने बताए ।

त्यस्तै कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले देशको अर्थतन्त्रलाई बलियो बनाउनको लागि कृषि क्षेत्रलाई प्रथामिकता दिएर अघि बढ्नुपर्ने बताएका छन् । पछिल्लो समय कृषि क्षेत्रमा देखिएको समस्याले समग्र अर्थतन्त्रलाई नै समस्या पारेको बताउँदै यो क्षेत्रमा देखिएको समस्यालाई तत्काल सम्बाेधन गर्नुपर्ने कार्कीले बताए ।