नेपालको कुल वैदेशिक व्यापार २.७८ प्रतिशतले घट्यो


काठमाडौँ । आर्थिक वर्ष २०८० ८१ को ८ महिनामा नेपालले ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको कुल वैदेशिक व्यापार २.७८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख २३ हजार रुपैयाँ बराबर कुल व्यापार गरेको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लााख ३० हजार रुपैयाँ बराबरको आयात गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६६ प्रतिशतले नेपालको आयात घटेको हो ।

आयात २.६६ प्रतिशतले घट्दा निर्यात ३.९९ प्रतिशतले घटेको छ । नेपालले चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।