भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवर्धन केन्द्रका रुपमा विकास गर्नुपर्छ : सांसद वाग्ले


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवर्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आज भन्सार विधेयकमाथिको छलफलमा बोल्दै सांसद वाग्लेले भन्सारलाई राजश्व सङ्कलन केन्द्रका रुपमा मात्रै लिनु नहुने बताए ।

उनले भन्सार मालदार अड्डा, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारको पर्याय बनेको टिप्पणी गरे । उनले भने,“‘नेपालमा भन्सार एउटा बद्नाम शब्द बनेको छ । यो मालदार अड्डाका रुपमा चिनिन्छ, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारका लागि पर्याय नै बनेको छ ।”

भन्सार एजेण्टहरूको लाइसेन्स पनि उचित नियमन हुन नसकेको उनको भनाई थियो । उद्यमी व्यवसायी हैरानी हुने, उपभोक्ताहरू सास्तीमा पर्ने कुरालाई मिलाउने गरेर नै अगाडि बढ्नुपर्ने वाग्लेको जोड थियो ।

उनले भने,“डिजिटलाइजेसनको भरपुर उपयोग गरेर हामीले भन्सार नाकाहरूलाई ‘आइल्याण्ड अफ एक्सिलेन्स’कै रुपमा अघि जानुपर्ने हुन्छ । भन्सारलाई राजश्व सङ्कलन केन्द्रका रुपमा लिइरहेको छ, त्योबाट सिफ्ट आवश्यक छ ।”