५,००० एमएएच ब्याट्रीसहित ‘अनर च्वाइस टी१०’ नेपालमा, बन्नसक्छ ७ भन्दा बढी मोडेलका मोबाइलको बिकल्प


काठमाडौँ । अनर कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘अनर च्वाइस टी१०’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कृत्रिम बौद्धिकता (एआई)आधारित भाषा अनुवादको सुविधा, ६.७५ इन्चको डिसप्ले तथा ५,००० एमएएच क्षमताको ब्याट्रीसहित आएको यो स्मार्टफोनले प्रयोगकर्तालाई थप सहज र स्मार्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अनर च्वाइस टी१० को मुख्य आकर्षणमध्ये कृत्रिम बौद्धिकता आधारित समकालीन भाषा अनुवाद सुविधा हो। यसले फरक–फरक भाषा बोल्ने व्यक्तिहरूबिच हुने संवादलाई तत्कालै अनुवाद गरी बुझाउन सहयोग गर्दछ । कम्पनीका अनुसार यस सुविधाले दैनन्दिन जीवनमा देखिने भाषागत अवरोध कम गर्न सहयोग पुर्‍याउनेछ ।

स्मार्टफोनमा बहुभाषिक अफलाइन भाषा अनुवाद सुविधा पनि समावेश गरिएको छ । इन्टरनेट जडान उपलब्ध नभएको अवस्थामा समेत विभिन्न भाषाको अनुवाद गर्न सकिने भएकाले यात्रा, अध्ययन तथा सञ्चारका क्रममा प्रयोगकर्ताले सहजता अनुभव गर्ने अपेक्षा गरिएको छ ।

फोनमा रहेको ६.७५ इन्चको ठुलो डिसप्लेले भिडियो सामग्री हेर्न, इन्टरनेट प्रयोग गर्न तथा सामाजिक सञ्जाल चलाउन फराकिलो दृश्य अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । यस्तै, ५,००० एमएएच क्षमताको ब्याट्रीले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ।

अनर च्वाइस टी१० नेपाली बजारमा दुई संस्करणमा उपलब्ध छ । ३ गिगाबाइट स्मृति (र्याम) र ३२ गिगाबाइट सञ्चिति क्षमता भएको मोडेलको मूल्य १६ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ । ४ गिगाबाइट स्मृति र ६४ गिगाबाइट सञ्चिति क्षमता भएको अर्को मोडेल पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यद्यपि उक्त संस्करणको मूल्य भने सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छैन ।

कृत्रिम बौद्धिकता आधारित भाषा अनुवाद, ठुलो डिस्प्ले तथा लामो ब्याट्री क्षमताजस्ता सुविधाले अनर च्वाइस टी१० विद्यार्थी, यात्रु तथा बहुभाषिक वातावरणमा काम गर्ने प्रयोगकर्ताका लागि आकर्षक विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ ।

यो मोबाइल विभिन्न ब्रान्डका झण्डै ७ प्रकारका मोबोइलको बिकल्प बन्ने देखिएको छ । श्याओमी रेड्मी ए सिरिज तथा रेड्मी १४सी,रियलमी नोट सिरिज,सामसुङ ग्यालेक्सी ए०६ तथा ए०७ सिरिज,टेक्नो स्पार्क सिरिज,इन्फिनिक्स स्मार्ट तथा हट सिरिज,भिभो वाई सिरिजका सुरुवाती–स्तरका मोडेलहरू,ओपो ए सिरिजका सस्तो मूल्यका मोडेलहरूको बिकल्प अनर च्वाइस टी१० बन्न सक्ने छ ।