आइक्यान र आइकाईबिच ‘पारस्परिक मान्यता सम्झौता’ पाँच वर्षका लागि नविकरण


काठमाडौँ । नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको अन्तर्राष्ट्रिय पहुँच र व्यावसायिक अवसर विस्तार गर्ने उद्देश्यसहित इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आइकाई) बिच ‘पारस्परिक मान्यता सम्झौता’ थप पाँच वर्षका लागि नवीकरण भएको छ ।

भारतको नयाँदिल्लीस्थित आइकाई भवनमा सेप्टेम्बर २९ मा आयोजित कार्यक्रममा आईक्यानका अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले र आइकाईका अध्यक्ष सिए प्रसन्नकुमार डी ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नवीकरण गरिएको सम्झौता अब अक्टोबर २०, २०३० सम्म कार्यान्वयन हुने छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा आइक्यानका उपाध्यक्ष सिए हेमकुमार काफ्ले, आइक्यानका कार्यकारी निर्देशक सिए बिमल डंगोल, आइकाईका उपाध्यक्ष सिए मंगेश किनारे, आईकाई काउन्सिलका सदस्यहरू तथा दुवै संस्थाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्झौता नवीकरणअघि आइकाईले आइक्यानका पदाधिकारी तथा कर्मचारीहरूका लागि दुईदिने अध्ययन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा सिए शिक्षा प्रणाली, निरन्तर व्यावसायिक शिक्षा (सिपिई), डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), परीक्षा व्यवस्थापन तथा नियामकीय विषयमा अनुभव आदानप्रदान गरिएको थियो । यसबाट दुवै संस्थाबिच भविष्यमा सहकार्यका थप क्षेत्र पहिचान गर्न सहयोग पुगेको आइक्यानको विज्ञप्तिमा उल्लेख छ ।

आईक्यानका अनुसार सम्झौताको अवधि थपिएसँगै नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्टहरूलाई सीमापार व्यावसायिक अवसर उपयोग गर्न थप सहज हुने छ। साथै, यसले नेपाली सिए योग्यताको अन्तर्राष्ट्रिय मान्यता सुदृढ बनाउन र विश्वस्तरमा नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको उपस्थितिलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास उपाध्यक्ष हेमकुमार काफ्लेले विश्वास व्यक्त गरे ।

आइक्यान र आइकाईबिचको सहकार्यलाई अझ सुदृढ बनाउने यो कदमलाई दुई संस्थाबिचको सम्बन्धमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको उपाध्यक्ष काफ्लेको भनाई छ ।