कृषिमा आधारित उद्योगमा संलग्न नेपालीलाई ऋण तथा सहुलियतका स्किम ल्याइने


काठमाडौँ । सत्तारुढ पाँच दलले कृषिमा आधारित उद्योगमा संलग्न हुने नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कृषि क्षेत्रको विकास गर्नको लागि पालिकास्तरमा ‘भूमि बैङ्क’ जस्ता उपायबाट जमिनको व्यवस्था गर्नुका साथै स्थानीय बैंक\वित्तिय संस्थामार्फत् पूँजीको व्यवस्था गर्ने सिँचाई, मल, औजार–उपकरण आदिको प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।

कृषि उपजको बिमा गर्ने, समर्थन मूल्य तोक्ने र व्यावसायिक उत्पादनकर्तासँग अग्रिम खरिद सम्झौता सहितको प्रणाली विकास गर्ने भनिएको छ । भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने र ज्याला रोजगारी र स्वरोजगार दुवै क्षेत्रमा कामको अवसर सिर्जना गर्ने गरी ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा आयात प्रतिस्थापनसँगै निर्यातको सम्भावना भएका उत्पादनमा आत्मनिर्भरता बढाउने योजना अघि बढाउन तरकारी, फलफूल र माछालगायतका खाद्यवस्तु, जुत्ता, सिमेन्ट, आँखाको इन्ट्राओक्युलर लेन्सलगायतका औषधी आदिको उत्पादन र उपयोगलाई प्राथमिकता दिने र आर्थिक सम्भाव्यताका रुग्ण उद्योगहरूलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप पुनः सञ्चलनमा ल्याइने प्रतिबद्धता न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत गरिएको छ ।