काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको बताएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा संघीयता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले प्रदेश सभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघीयतालाई अझ मजबुत बनाउँदै लैजाने उल्लेख गरे ।
मधेसमा गत निर्वाचनमा रास्वपाले अत्यधिक मत पाएको उल्लेख गर्दै झाले आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे ।
उनले भने, ‘हामी संघीयताको विरोधी होइनौँ, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ । हामी प्रदेश सभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ । संघीयताका बारेमा यसमा थप व्याख्या गर्न आवश्यक छैन । हामी एकजुट हुन आवश्यक छ । आफ्नै–आफ्नै बीचमा झगडा गर्न थालियो भने, एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने, हामी कहीँ पुग्न सक्दैनौँ । हामीले एउटा सुसंस्कृत राजनीतिक अभ्यास, अध्ययन, विचार र संस्कारमा आधारित राजनीति गर्दै अगाडि बढ्नुपर्छ ।’
मधेशी समुदायबीच आपसी विवाद गर्ने तथा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए । अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको उनको भनाइ छ ।
– न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्